नेपालगञ्ज ।

बाँकेको खजुरामा आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि छात्रतर्फ विशाल बोहरा र छात्रातर्फ आयुष्मा सिंहले जितेका छन् ।

विश्वव्यापी रूपमा बढिरहेको जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले शनिबार विहान खजुरा गाउँपालिका–२ स्थित सितापुर गौघाटमा भएको प्रतियोगिताको ६ किलोमिटर छात्र दौडमा शुक्र माध्यमिक विद्यालयका विशाल बोहरा पहिलो भए । जनसेवा माध्यमिक विद्यालयका उपेन्द्र बम दोस्रो तथा सोही विद्यालयका निशान्त विक तेस्रो भए ।

त्यस्तै, ३ किलोमिटर छात्रा दौडमा जनता माध्यमिक विद्यालयकी आयुष्मा सिंहले पहिलो स्थान हासिल गरिन् । जनता माध्यमिक विद्यालयकै कविता क्षेत्री दोस्रो र जनसेवा माध्यमिक विद्यालयकी मेलिसा घर्ती तेस्रो भइन् ।

प्रतियोगिताअन्तर्गत १२ वर्षमुनिको किड्स रनमा छात्रतर्फ योगिनी माध्यमिक विद्यालयका शिव विक प्रथम, जनसेवा माध्यमिक विद्यालयका शिशिर सुनार दोस्रो र योगिनी माध्यमिक विद्यालयका समीर सार्की तेस्रो भए । छात्रातर्फ जनसेवा माध्यमिक विद्यालयकी सिम्रन दमाई पहिलो, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुराँसपुरकी वर्षा चन्द ठकुरी दोस्रो र योगिनी माध्यमिक विद्यालयकी करुणा चनारा तेस्रो भइन् ।

प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागितालाई प्रोत्साहन गर्न बेस्ट पार्टिसिपेसन अवार्ड योगिनी माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ ।

योगिनी माध्यमिक विद्यालयले १९२ जना विद्यार्थी सहभागी गराएको थियो। त्यस्तै, प्रतियोगितामा सबैभन्दा पहिले ७५ जना विद्यार्थीको नाम दर्ता गराएको शुक्र माध्यमिक विद्यालयलाई फास्टेस्ट रजिस्ट्रेसन अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

दौड केवल प्रतिस्पर्धामा सीमित रहेन । प्रतियोगितामा उमेर र शारीरिक अवस्थाका विविधताबीच पनि सहभागीको उत्साह उल्लेखनीय थियो । ३ किलोमिटर दौड पूरा गरेका ८५ वर्षीय शोकबहादुर खत्री र ८० वर्षीय धनबहादुर महतारालाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, फरक क्षमता भएका अर्थात् सुस्त श्रवण भएका ६ जनाले समेत दौड पूरा गरेका थिए ।

प्रतियोगिताले वातावरण संरक्षणसँगै स्वास्थ्य, खेलकुद र सामाजिक समावेशिताको सन्देशसमेत दिएको आयोजकको भनाइ छ । दौडमा सहभागी सबैले प्रतियोगिता पूरा गरेबापत पदक प्राप्त गरेका थिए ।
प्रतियोगिताका विजयी खेलाडीलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्री, खजुरा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष धनराम ओली, विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाय र केएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेडलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

गौघाट ग्रीन रनलाई वातावरण संरक्षणसँग जोड्दै यस वर्ष दौड पूरा गर्ने सहभागीलाई ताइवानी अम्बाको बिरुवा वितरण गरिएको छ । खजुरा गाउँपालिका–२ को सहकार्यमा दौड पूरा गर्ने करिब सात सय सहभागीलाई बिरुवा वितरण गरिएको हो ।

आयोजकले दौडमा सहभागीलाई केवल दौडाएर छाड्नेभन्दा वातावरण संरक्षणको जिम्मेवारीसँग जोड्ने प्रयास गरेको जनाएको छ । सहभागीले प्राप्त गरेको बिरुवा हुर्काउने र संरक्षण गर्ने जिम्मेवारीसमेत उनीहरूलाई दिइएको छ ।

आयोजकका अनुसार एक वर्षपछि सबैभन्दा राम्रोसँग बिरुवा हुर्काउने १० जनालाई विशेष रूपमा पुरस्कृत गरिनेछ। यसले विद्यार्थी, शिक्षक र अभिभावकलाई बिरुवा संरक्षणमा थप उत्साहित बनाउने लुम्बिनी प्रदेश खेलकुद परिषद्का संस्थापक सदस्यसचिव भीम ओलीले बताए ।

उनका अनुसार दौडमार्फत विद्यार्थीलाई खेलकुदमा जोड्नुका साथै वातावरण संरक्षणको व्यवहारिक अभियानमा सहभागी गराउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।

धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार गौघाट ग्रीन रनमा सहभागी प्रत्येक विधाका उत्कृष्ट १२ जनालाई आगामी मंसिर ५ गते आयोजना हुने १२औँ धारा नेपालगञ्ज म्याराथनमा स्वतः सहभागी गराइनेछ। यसले स्थानीय स्तरका विद्यार्थी तथा नयाँ धावकलाई ठूलो प्रतियोगितासम्म पुग्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।

गौघाट ग्रीन रन हरेक वर्ष असोजको पहिलो साता आयोजना गर्ने तयारी गरिएको छ । धारा नेपालगञ्ज म्याराथनको भगिनी इभेन्टका रूपमा आयोजना हुँदै आएको गौघाट ग्रीन रनले खेलकुदसँगै वातावरण संरक्षणको सन्देशलाई जोड दिँदै आएको आयोजकले जनाएको छ ।

दौडमा विद्यार्थी, शिक्षक, अभिभावक, खेलाडी तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो । प्रतिस्पर्धासँगै बिरुवा वितरण, ज्येष्ठ नागरिकको सम्मान तथा फरक क्षमता भएका व्यक्तिको सहभागिताले गौघाट ग्रीन रनलाई केवल खेलकुद प्रतियोगिताभन्दा वातावरण, स्वास्थ्य र समावेशिताको साझा अभियानका रूपमा स्थापित गर्ने प्रयास गरिएको देखिएको छ ।

तपाईको प्रतिक्रिया