इलाम : १३औँ राष्ट्रिय परिवार योजना दिवस तथा ६८औँ नेपाल परिवार नियोजन संघ स्थापना दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ इलाम शाखाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

शाखा अध्यक्ष पूर्ण गौतमले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। शाखा उपाध्यक्ष हरि फुयालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन शाखा प्रमुख प्रमिला गौतमले गरेकी थिइन्।

कार्यक्रममा इलाम नगरपालिका–७ का वडा सदस्य बसन्ती घतानी, नगर स्वास्थ्य प्रमुख उपेन्द्र खनाल, नेपाल परिवार नियोजन संघ युवा केन्द्रीय समिति सदस्य सुनिता राईलगायतले परिवार योजना, यौन तथा प्रजनन स्वास्थ्य र युवाको भूमिकाबारे धारणा राखेका थिए।

दिवसकै अवसरमा शाखाले बृहत् यौनिकता शिक्षासम्बन्धी ज्ञापनपत्र जिल्ला स्वास्थ्य कार्यालय इलाममा बुझाएको छ। विद्यालय तहदेखि नै बृहत् यौनिकता शिक्षालाई प्रभावकारी रूपमा समावेश गर्नुपर्ने, युवामैत्री यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना तथा सेवाको पहुँच विस्तार गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएका छन्।

शाखा अध्यक्ष गौतमले परिवार योजना तथा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा सेवा र सचेतना विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। शाखालाई थप प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य भइरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया