काठमाडौं। सरकारी निकायको नियन्त्रणमा रहेको विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि सहभागी गराउने पहलस्वरुप ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी कम्पनीलाई विद्युत् व्यापारका लागि आशयपत्र (एलओआई) दिन थालेको छ।

विद्युत् व्यापारका लागि आवेदन दिएका १५ कम्पनीमध्ये हालसम्म ११ वटाले आशयपत्र प्राप्त गरिसकेको मन्त्रालयले बताएको हो।
मन्त्रालयका सहप्रवक्ता शालिग्राम भण्डारीले गत शुक्रबारसम्म ११ कम्पनीले आशयपत्र पाइसकेको र बाँकीले पनि पाउने जानकारी दिए।

निजी कम्पनीलाई विद्युत् व्यापारमा प्रवेश गराउँदा उत्पादकले बजार खोज्ने थप अवसर पाउनेछन्। यसले विद्युत् खरिद–बिक्रीमा प्रतिस्पर्धा बढाउनुका साथै भारत र बंगलादेशजस्ता क्षेत्रीय बजारमा विद्युत् निर्यातका नयाँ सम्भावना खोज्न सघाउनेछ।

यद्यपि ऊर्जा मन्त्रीका सल्लाहकारसमेत रहेका स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान)पूर्वअध्यक्ष गणेश कार्की संलग्न नेपाल पावर एक्सचेन्ज (नेपेक्स) र ग्रीन इनर्जी पावर ट्रेडिङले आशयपत्र पाएपछि सरकारी निर्णयमा स्वार्थको द्वन्द्वबारे आशंका जन्मिएका छन्।

तर, कार्कीले भने विद्युत् व्यापारका लागि आवेदन दिएका सबै योग्य कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेपछि आशयपत्र पाएको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया