काठमाडौं : वैदेशिक रोजगार विभागले विदेशमा रोजगारीका क्रममा सम्झौताअनुसारको सेवा सुविधा नपाएको अवस्थामा म्यानपावर कम्पनीविरुद्ध उजुरी गर्न आह्वान गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको राहत तथा उद्धारसम्बन्धी अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै विभागले विदेशमा रोजगारीका क्रममा सम्झौताअनुसारको काम, तलब, सेवा सुविधा तथा कार्य वातावरण नपाएको, रोजगारदाताबाट दुव्र्यवहार, शोषण वा अन्याय भोग्नुपरेको अथवा अन्य कुनै समस्यामा परेको अवस्थामा विभागको आधिकारिक वेबसाइटमार्फत अनलाइन गुनासो दर्ता गर्न सकिने जनाएको छ ।
विभागले वैदेशिक रोजगारीमा रहेका श्रमिक स्वयं वा नेपालमा रहेका निजका परिवारका सदस्य तथा आफन्तले समेत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । विदेशमा अलपत्र परेका, उद्धार गर्नुपर्ने, राहत तथा सहयोग आवश्यक भएका वा अन्य कुनै कारणले तत्काल सरकारी सहजीकरण आवश्यक पर्ने श्रमिकका सम्बन्धमा समेत उक्त पोर्टलमार्फत जानकारी तथा अनुरोध पठाउन सकिने विभागले बताएको छ ।
गुनासो दर्ता गर्दा श्रमिकको नाम, राहदानी नम्बर, हाल कार्यरत मुलुक, रोजगारदाता वा इजाजतपत्र प्राप्त संस्थाको विवरण, सम्पर्क नम्बर तथा समस्याको संक्षिप्त विवरण उल्लेख गरी सम्भव भएसम्म सम्बन्धित प्रमाणसमेत संलग्न गर्न विभागले आग्रह गरेको छ ।
विभागमा प्राप्त गुनासो तथा उद्धारसम्बन्धी अनुरोधको प्रारम्भिक अध्ययन तथा आवश्यक समन्वयको प्रक्रिया तीन कार्यदिनभित्र प्रारम्भ गरिने जनाएको छ । साथै, श्रमिकको हक, हित, सुरक्षा, राहत तथा उद्धारका लागि विभाग प्रतिबद्ध रहेको दाबीसमेत गरेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष तथा विभाग समन्वय समिति संयोजक लक्ष्मण पौडेलले विभागमा रहेका उजुरी विश्लेषण गर्ने हो भने ९५ प्रतिशत ठगीका उजुरी व्यक्तिगत रूपमा दर्ता भएको बताए । उनले म्यानपावर कम्पनीका कारण समस्यामा पर्ने श्रमिकको संख्या ठुलो नरहेको भन्दै व्यक्तिगत तर्फको ठगीलाई एउटै डालोमा हालेर हेर्न नहुने बताए ।
केही श्रमिक स्वेच्छाले करार अवधि नसकिँदै घर फर्किएर आएपछि सांसद, सरकार र जनप्रतिनिधिको प्रयोग गरी म्यानपावर कम्पनीविरुद्ध बिना प्रमाण उजुरी दर्ता गराएर व्यवसायीलाई दबाब दिने गरिएको भन्दै यसका कारण व्यवसायीसमेत समस्यामा परेको उनले बताए ।





