झापा : विद्यार्थीभित्र लुकेका प्रतिभा पहिचान गर्ने र उनीहरूको सिर्जनशीलता, सीप तथा व्यावहारिक ज्ञानलाई सार्वजनिक मञ्च प्रदान गर्ने उद्देश्यसहित झापाको भद्रपुरमा आजदेखि तीनदिने विद्यार्थी महोत्सव सुरु हुँदैछ।

भद्रपुर नगरपालिकाको ७५औँ स्थापना दिवस अर्थात् हीरक महोत्सवको अवसर पारेर आयोजना गरिएको महोत्सवमा नगरभित्रका ५८ विद्यालयका विद्यार्थीले सहभागिता जनाउने भएका छन्। भद्रपुर–८ स्थित मेची रंगशालामा बिहान ११ बजे उद्घाटन हुने महोत्सव कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ।

‘सीप, सिर्जना र प्रतिभाको उत्सव, समृद्ध भविष्यका लागि विद्यार्थी महोत्सव’ नारासहित आयोजना गरिएको कार्यक्रमलाई विद्यालयस्तरमा हुने नियमित पठनपाठनभन्दा बाहिरका सिकाइ र प्रतिभा प्रदर्शनको साझा अवसरका रूपमा हेरिएको छ।

महोत्सवमा विद्यार्थीले विज्ञान तथा प्रविधि, कला, साहित्य, खेलकुद र सांस्कृतिक विधामा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। लोकसांस्कृतिक नृत्य, विज्ञान प्रदर्शनी, चित्रकला, हस्तलेखन, हाजिरीजवाफ, चेस, कविता र वक्तृत्वकलालगायतका प्रतियोगिता सञ्चालन हुनेछन्।

नगरप्रमुख गणेश पोखरेलका अनुसार विद्यार्थीको अन्तर्निहित क्षमता पहिचान, सिर्जनात्मक सोचको विकास र विद्यालयबीच अनुभव आदानप्रदान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। नगर उपप्रमुख राधा कार्कीले यस्ता कार्यक्रमले पाठ्यपुस्तकमा सीमित शिक्षालाई व्यवहार र सिर्जनासँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको बताइन्।

नगर शिक्षा शाखाका अनुसार महोत्सवमा २७ सामुदायिक र ३१ संस्थागत गरी ५८ विद्यालय सहभागी हुँदैछन्। पहिलो दिन आधारभूत तहका विद्यार्थीबीच लोकसांस्कृतिक नृत्य प्रतियोगिता, विज्ञान प्रदर्शनी तथा चित्रकला, हस्तलेखन, हाजिरीजवाफ र चेस प्रतियोगिता सञ्चालन हुनेछन्।

दोस्रो दिन माध्यमिक तहका विद्यार्थीबीच सांस्कृतिक नृत्य प्रतियोगितासँगै कविता र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। विज्ञान प्रदर्शनीलाई पनि निरन्तरता दिइनेछ। यसका अतिरिक्त विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिबीच शैक्षिक उपलब्धि, विद्यालय व्यवस्थापन र असल अभ्यासबारे अनुभव आदानप्रदान गरिने कार्यक्रम छ।

महोत्सवको अर्को आकर्षण कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी कार्यशाला रहनेछ। विद्यालय शिक्षामा एआईको महत्त्व, उपयोगिता र चुनौतीबारे छलफल गर्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र सूचना तथा सञ्चार प्रविधिका प्रतिनिधिलाई सहभागी गराइनेछ।

अन्तिम दिन सांस्कृतिक नृत्य प्रतियोगिताका बाँकी चरण तथा विभिन्न प्रतियोगिताका अन्तिम प्रतिस्पर्धा सञ्चालन गरिने आयोजकले जनाएको छ। खेलकुद विधाका प्रतियोगिताको पुरस्कार भने खेल सम्पन्न भएकै दिन वितरण गरिनेछ।

महोत्सव सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई नगरपालिकाले पुरस्कार तथा सम्मान प्रदान गर्नेछ।

भद्रपुर नगरपालिकाले आफ्नो हीरक महोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी विद्यार्थीको प्रतिभा, प्रविधिमैत्री शिक्षा र सिर्जनात्मक अभ्याससँग जोड्ने प्रयासका रूपमा विद्यार्थी महोत्सवलाई अघि सारेको छ। यसको प्रभावकारिता भने प्रतियोगितामा विद्यार्थीको सहभागितासँगै उनीहरूले प्राप्त गर्ने सिकाइ, अनुभव र अवसरले निर्धारण गर्नेछ।

तपाईको प्रतिक्रिया