विराटनगर, असोज १ गते । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा विहिबार विराटनगर–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीहरूसँग बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले विद्यार्थी तथा शिक्षकहरूको बीमा र जोखिम व्यवस्थापनसम्बन्धी ज्ञानको अवस्था बुझ्दै बीमाको महत्व, उद्देश्य, आवश्यकता तथा विभिन्न प्रकारका बीमाबारे जानकारी गराउनुभयो ।
उहाँले कार्यक्रममा पछिल्लो समय विभिन्न प्राकृतिक तथा मानवीय घटनाका कारण ठूलो जनधनको क्षति भइरहेको सन्दर्भ उल्लेख गर्दै जोखिम जीवनको अभिन्न हिस्सा भएकाले सम्भावित जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरणका लागि बीमा महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले हालैको बाढीबाट भएको ठूलो जनधनको क्षति, विगतमा भूकम्पबाट भएको क्षति तथा विभिन्न अप्रत्याशित घटनाबाट व्यक्ति, परिवार र सम्पत्तिमा पर्न सक्ने आर्थिक जोखिमलाई समेत बीमामार्फत व्यवस्थापन गर्न सकिने विषयमा प्रकाश पार्नुभयो।
विपद् तथा भवितव्यका घटना पूर्ण रूपमा रोक्न नसकिने भए पनि त्यसबाट उत्पन्न आर्थिक क्षतिलाई न्यूनीकरण गर्न बीमाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। साथै, पछिल्लो समय देखिएका विभिन्न सामाजिक घटनाक्रम तथा जोखिमपूर्ण अवस्थाले पनि व्यक्ति तथा परिवारलाई जोखिम व्यवस्थापन र आर्थिक सुरक्षाका उपायबारे सचेत हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। प्रदेश प्रमुख महर्जनले विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई बीमासम्बन्धी आधारभूत ज्ञान हासिल गरी परिवार तथा समुदायमा समेत यसको महत्वबारे जानकारी गराउन आग्रह गर्नुभयो। विद्यार्थी तथा शिक्षकमार्फत बीमासम्बन्धी सही र आधिकारिक सूचना समुदायस्तरसम्म पु¥याउन सकिने उल्लेख गर्दै उहाँले बीमालाई केवल क्षति भएपछि राहत प्राप्त गर्ने माध्यमका रूपमा नभई जोखिम व्यवस्थापन तथा आर्थिक सुरक्षाको महत्वपूर्ण साधनका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा विद्यार्थी तथा शिक्षकहरूले बीमाको आवश्यकता, बीमा गर्नुपर्ने अवस्था, बीमाबाट प्राप्त हुने लाभ तथा दाबी प्रक्रियालगायतका विषयमा जिज्ञासा राखेका थिए। विद्यार्थीहरूको सहभागिता र सिकाइलाई थप प्रभावकारी बनाउन बीमासम्बन्धी प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको थियो। प्रश्नहरूको सही उत्तर दिने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरी उनीहरूको उत्साह तथा सक्रिय सहभागितालाई प्रोत्साहन गरिएको थियो ।





