नवलपुर । युवाहरूमा उद्यमशील सोचको विकास गर्दै स्वरोजगार र आत्मनिर्भरताको बाटोमा अघि बढाउने उद्देश्यले नवलपुरको मध्यविन्दु नगरपालिकामा ‘युवा उद्यमशीलता : सोचदेखि सफलतासम्म’ नामक विशेष अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

कार्यक्रमको पहिलो दिन कात्तिक १७ गते मध्यविन्दु नगरपालिकाको चोरमारा क्लस्टरमा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो। स्थानीय युवाहरूमा उद्यमशीलताको भावना विकास गर्ने, उनीहरूका नवीन सोच र योजनालाई व्यावसायिक स्वरूप दिने तथा आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा युवा अगुवा तथा उत्प्रेरक वक्ता (मोटिभेसनल स्पिकर) राज कार्की मुख्य वक्ताका रूपमा सहभागी भएका थिए। उनले युवाहरूलाई परम्परागत सोचबाट बाहिर निस्केर नयाँ सम्भावनाको खोजी गर्न, आफ्नै क्षमता पहिचान गर्न र उद्यमशीलतामार्फत आत्मनिर्भर बन्न प्रेरित गरे।

आफ्नो मन्तव्यका क्रममा कार्कीले सफलता भाग्यमा निर्भर नहुने उल्लेख गर्दै दृढ संकल्प, सकारात्मक सोच र निरन्तर मेहनतले नै सफलताको बाटो निर्माण गर्ने बताए।

उनले भने, ‘सफलता कसैको भाग्यमा लेखिएको हुँदैन, यो त दृढ संकल्प, सही सोच र निरन्तर मेहनतले आफ्नै हातले लेख्ने कुरा हो। विगतदेखि नै म यही विश्वासका साथ युवाहरूलाई आफ्नै माटोमा केही गर्न प्रेरित गर्दै आएको छु।’

देशका विभिन्न स्थानमा पुगेर युवाहरूलाई स्वरोजगार, सीप विकास र उद्यमशीलताप्रति अभिप्रेरित गर्दै आएका कार्कीले चोरमाराका युवाहरूमा देखिएको उत्साह र ऊर्जाले आफूलाई थप प्रेरित गरेको बताए। युवाहरूमा नयाँ काम गर्ने इच्छा र सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै उनले त्यसलाई सही मार्गदर्शन, सीप र अवसरसँग जोड्न सके स्थानीय स्तरमै आर्थिक रूपान्तरण सम्भव हुने धारणा राखे।

कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। उनीहरूले उद्यमशीलता, स्वरोजगार र आफ्नै क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने सम्भावनाबारे उत्प्रेरणामूलक विचार सुन्ने अवसर पाएका थिए।

कार्कीले कार्यक्रम सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारी तथा नगरपालिका परिवारप्रति आभार व्यक्त गरे। स्थानीय सरकारको सक्रियता र युवाहरूको सहभागिताले उद्यमशीलताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ।

मध्यविन्दु नगरपालिकाको यस अभियानले युवाहरूलाई वैदेशिक रोजगारीमा मात्रै निर्भर नभई स्वदेशमै अवसर खोज्न, आफ्नै सीप र क्षमताको उपयोग गर्न तथा स्थानीय स्रोतसाधनमा आधारित व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगरपालिकाको दूरदर्शी नेतृत्व र युवाहरूको सक्रियताले मध्यविन्दु क्षेत्रमा उद्यमशीलताको नयाँ वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरिएको थियो। युवाहरूलाई केवल रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने जनशक्तिका रूपमा विकास गर्नु अहिलेको आवश्यकता रहेकोमा समेत जोड दिइएको थियो।

सुटमालाका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) र परम्परागत सीपमा आधारित युवा सञ्जालका अध्यक्षसमेत रहेका राज कार्कीले सञ्चालन गर्दै आएको राष्ट्रव्यापी अभियानले युवाहरूलाई सीप, सोच र उद्यमशीलतासँग जोड्ने लक्ष्य राखेको छ।

मध्यविन्दुमा सुरु भएको यो कार्यक्रमले स्थानीय युवाहरूमा आत्मविश्वास बढाउनुका साथै नवीन सोचलाई व्यावसायिक योजनामा रूपान्तरण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय सरकार, युवा नेतृत्व र उद्यमशील सोचबीचको सहकार्यले स्वदेशमै आत्मनिर्भर बन्ने अभियानलाई थप बलियो बनाउने विश्वास आयोजकले लिएका छन्।

तपाईको प्रतिक्रिया