काठमाडौँ । अर्थ मन्त्रालयले गरेको पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । जेठ २९ गते अर्थ मन्त्रालयले पूँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै व्यक्तिगत लगानीकर्तामा लागू गरिएको पूँजीगत लाभकर घटाउने प्रस्ताव गरेको थियो ।

चालू आर्थिक वर्षदेखि व्यक्तिगत पूँजीगत लाभकर अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई क्रमशः १० र ७ दशमलव ५ प्रतिशत कायम गरिएको थियो । चालू आर्थिक वर्षको बजेटमार्फत बढाइएको पूँजीगत लाभकरलाई अल्पकालीनमा ५ र दीर्घकालीनमा ३ दशमलव ७५ प्रतिशत कायम हुने गरी घटाउने अर्थ मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

मन्त्रिपरिषद्‌बाट प्रस्ताव पारित भए पनि संशोधित करको दर लागू गर्न राजपत्रमा सूचना प्रकाशित हुनुपर्छ । अर्थ मन्त्रालयका करको दर घटाइएको सूचना राजपत्रमा प्रकाशित भएपछि नयाँ दर कार्यान्वयन हुन्छ ।

सरकारले व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन गर्दै आएको छ । धितोपत्र एक वर्षभन्दा बढी अवधि राखेर बेच्नेलाई दीर्घकालीन र सोभन्दा कम समयमा बेच्नेलाई अल्पकालीन लगानीकर्ता मान्दै सरकारले लाभमा कारोबार गरेको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर संकलन गर्दै आएको छ । संस्थागत लगानीकर्ताको हकमा भने पूँजीगत लाभकर १० प्रतिशत लाग्छ ।

अर्थ मन्त्रालयले पूँजीगत लाभकर घटाउनेसँगै समयसीमा तोकेर पूँजी बजारमा नयाँ नयाँ धितोपत्र भित्र्याउने, संस्थागत लगानीकर्ता भित्र्याउने, बजारसम्बद्ध निकायहरूको क्षमता बढाउनेलगायत २१ बुँदे योजना अघि सारेको हो ।

उक्त योजना सोमवार सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल बढेर पूँजी बजारले उकालो बाटो समात्ने धेरेको अपेक्षा थियो । सोहीमुताविक मंगलवार निकै उतारचढावबीच धितोपत्र बजारको सूचक नेप्से ४८ दशमलव ५७ अंक बढेर बन्द भएको थियो । तर बुधवार नेप्से २१ दशमलव १९ अंक घटेर बन्द भएको छ । नेप्से यो दिन २ हजार ६१२ दशमलव ४२ विन्दुमा बन्द भएको हो ।

तपाईको प्रतिक्रिया