काठमाडौं । जीवन बीमा कम्पनीहरूले लेखामान सम्बन्धी नयाँ व्यवस्था राष्ट्रिय लेखामान प्रतिवेदन प्रणाली १७ (NFRS 17) को कार्यान्वयनले यसपटक अधिकांश बीमकको वार्षिक साधारण सभा ढिलो हुने भएको छ।

जीवन बीमक संघको पहलमा बुधबार प्राधिकरणका कार्यकारी निर्देशक र दशजना प्रमुख कार्यकारी अधिकृतहरूबीच भएको छलफलका क्रममा बीमकले एनएफआरएस १७ कार्यान्वयन गर्ने समयावधि अर्को आर्थिक वर्षका लागि सार्न दबाब दिएका हुन् । एनएफआरएस १७ लागू गर्ने तयारी नपुगेकाले तोकिएको समयमै वित्तीय विवरण तयार पार्न र साधारण सभा गर्न असमर्थता जनाउँदै बीमकले यस्तो माग गरे ।

बीमा ऐन २०७९ को प्रावधान अनुसार, बीमकले आउँदो पुस महिनाभित्र बीमाङ्कीय मूल्याङ्कनका साथै वार्षिक वित्तीय विवरण र वासलात तयार पारेर स्वीकृतिका लागि प्राधिकरण समक्ष पेश गरिसक्नुपर्छ। गत आर्थिक वर्ष २०८१।८२ को वित्तीय विवरण तथा वासलात तोकिएको समयमा पेश गर्न नसकेपछि प्राधिकरणले ऐनको प्रावधान बमोजिम केही बीमकलाई २ लाख रूपैयाँसम्म जरिवाना गरेको थियो ।

राष्ट्रिय लेखामान बोर्डले नेपालको बीमा क्षेत्रमा आव २०८०।८१ देखि नै एनएफआरएस १७ कार्यान्वयनमा ल्याउने गरी बीमालेख करार सम्बन्धी एनएफआरएस १७ सम्बन्धी निर्देशिका जारी गरेको थियो। पूर्वनिर्धारित समय सीमामा बीमकले कार्यान्वयनमा नल्याएपछि बोर्डले यसको कार्यान्वयनका लागि प्राधिकरणमार्फत् बीमकलाई दबाब दिंदै आएको छ।

प्राधिकरणले गत आर्थिक वर्ष २०८२।८३ को वित्तीय विवरणदेखि नै एनएफआरएस १७ पूर्णरूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ। प्राधिकरणको निर्देशनपछि बीमकले विदेशी परामर्शदाता तथा वित्तीय विशेषज्ञहरू पनि नियुक्त गरिसकेका छन् । एनएफआरएस १७ कार्यान्वयन गर्दा जोखिम आधारित पूँजी, स्वः जोखिम अनुपात निर्धारण संरचनासँग तादात्म्यता कायम गर्न पनि चुनाैती हुने बीमकको अप्ठेरो छ।

नेपालमा बीमा क्षेत्रमा पहिलो पटक कार्यान्वयनमा ल्याउन लागिएकाले यसका लागि बीमकसँग दक्ष जनशक्ति उपलब्ध छैन। साथै यो प्रणालीको लागि विदेशी परामर्शदातृ तथा वित्तीय विवरण तयार पार्ने प्राविधिकको सेवा शुल्क पनि महँगो छ।

बीमा प्राधिकरणले ‘Guidelines on the Implementation of Nepal Financial Reporting Standard on Insurance Contracts (NFRS 17) for Insurers, 2026 (BS 2083)’ (बीमकको एनएफआरएस १७ निर्देशिका) मार्फत् एनएफआरएस १७ कार्यान्वयन सम्बन्धी मार्गदर्शन उपलब्ध गराएको छ। प्राधिकरणले यसको कार्यान्वयनका लागि त्यसअघि नै बीमकको प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्त अधिकृत, लेखा अधिकृतहरूका लागि प्राधिकरणले विदेशी विज्ञ समेतको संलग्नतामा एनएफआरएस १७ सम्बन्धी अभिमूखीकरण तालिम, अन्तरकृया र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिसकेको छ।

निर्देशिका अनुसार, बीमकको वित्तीय विवरण निर्देशिका, २०८० र बीमकको एनएफआरएस १७ निर्देशिका दुबैका आधारमा वित्तीय विवरण तयार पारेर प्राधिकरण समक्ष पेश गर्नुपर्नेछ। तर, साधारण सभामा एनएफआरएस १७ मा आधारित वित्तीय विवरण स्वीकृतिका लागि पेश गर्नुपर्नेछ। निर्देशिकामा गत आव २०८२।८३ को चाैथाे त्रैमासको वित्तीय विवरण समेत एनएफआरएस १७ को प्रावधान अनुसार तयार पारेर पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

एनएफआरएस १७ मा आधारित वित्तीय विवरण तयार पार्दा लगानीकर्ताका लागि वितरण योग्य मुनाफामा गिरावट आउने भएकाले पनि बीमकले अहिलेको अवस्थामा यो लेखा प्रणाली लागू गर्न चाहेका छैनन् । यसअघि जोखिममा आधारित पूँजी सम्बन्धी व्यवस्था कार्यान्वयनमा पनि बीमकले प्राविधिक समस्या र असमर्थता जनाए पनि प्राधिकरणले कार्यान्वयमा ल्याउन बाध्य बनाएको थियो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीले नयाँ लेखामानमा आधारित व्यवस्था लागू गर्ने म्याद सार्न बीमकको तर्फबाट माैखिक अनुरोध प्राप्त भएको पुष्टी गरे। उनले भने, ‘एनएफआरएस १७ बमोजिम वित्तीय विवरण तयार पार्न नभ्याइने भयो, अर्को वर्षका लागि साराैं भन्ने वहाँहरूको अनुरोध छ।’ यद्दपी उनले पूर्वनिर्धारित तालिका अनुसार नै यो प्रणाली लागू गरेर लैजाने विषयमा प्राधिकरण स्पष्ट रहेको प्रतिकृया दिए ।

प्राधिकरणले बीमा क्षेत्रमा पारदर्शिता, विश्वनीयता बढाउन साथै पहिचान, मापन, बीमालेख सम्झाैता सम्बन्धी खुलासामा बीमा क्षेत्रमा तुलनायोग्य विवरण तयार पार्ने उद्देश्यले यो प्रणाली लागू गर्न लागिएको जनाएको छ।

तपाईको प्रतिक्रिया