विदुर /त्रिशूली नदीमा बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना लुटपाट गर्ने पाँच जना युवकलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ।भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट आएको भिषण बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा विदुर नगरपालिका–३ का ५ जना युवकहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार देवीघाटस्थित फर्केपमा बाढीले बगाएर ल्याएको शवबाट रातिको समयमा टर्चलाइट बालेर गहना लुटपाट भएको थियो। स्थानीयवासीका अनुसार २० देखि ३० वर्ष उमेर समूहका ती युवकहरूले शवको औँलासमेत काटेर गहना निकाल्ने प्रयास गरेका थिए।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) इकवाल हवारीका अनुसार पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। उनीहरूविरुद्ध चोरीसम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया