झापा, १८ कात्तिक । तिहार पर्वका समयमा हुन सक्ने आगलागीका सम्भावित घटना न्यूनीकरण तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो।
तिहारका बेला दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट आगलागीका घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीस्वरूप अभ्यास गरिएको गणले जनाएको छ।
अभ्यासको मुख्य उद्देश्य आगलागीका घटना हुन नदिन सचेतना अभिवृद्धि गर्नुका साथै विपद्का समयमा तत्काल उद्धार तथा आगो नियन्त्रण गरी मानवीय र भौतिक क्षति न्यूनीकरण गर्नु रहेको छ।
अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीहरूले आगलागी नियन्त्रण, उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक अभ्यास गरेका थिए। यस्ता अभ्यासले विपद्का बेला सुरक्षाकर्मीको तयारी, कार्यक्षमता र स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।
आगलागी तथा अन्य विपद्का घटनामा उद्धार र सुरक्षा कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको नं. २ गण झापाले सम्भावित जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य क्षमता अभिवृद्धि तथा स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ।
यसैबीच, तिहारलाई सुरक्षित र मर्यादित बनाउन आगो तथा विद्युतीय उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउन सशस्त्र प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। आगलागीको जोखिम देखिएमा तत्काल सशस्त्र प्रहरी बल वा सम्बन्धित निकायलाई खबर गर्नसमेत गणले अनुरोध गरेको छ।
तिहारलाई लक्षित गर्दै झापामा सशस्त्र प्रहरीको आगलागी नियन्त्रण अभ्यास





