काठमाडौं। भदौ १० मा रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि तल्लो तटीय क्षेत्र नुवाकोट, धादिङलगायतका जिल्लामा गरिएको कृषि खेतीमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडीएन) प्रतिवेदन सार्वजनिक भएको छ।

योजना आयोगका अनुसार बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपक्षी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। विवरणअनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ एक हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित भएको छ, जसमा पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ।

त्यस्तै, तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारीमा क्षति पुगेको छ।

भौगोलिक रुपमा हेर्दा नुवाकोटको विदुर, लिखु तथा बेलकोटगढी, धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी, गोरखाका गण्डकी र शहीद लखनलगायत स्थानीय तह प्रभावित भएका छन्।

नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ। लिखुमा २३० हेक्टर प्रभावित हुँदा ८०५ टन धान र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ।

धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख छ।

तरकारीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको छ। विदुरमा ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित एक हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ । धादिङको बेनीघाट रोराङमा ९ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ।

पशुधनतर्फ एक अर्ब ११ करोडको क्षति
बाढीबाट पशुपक्षी क्षेत्रमा पनि उल्लेख्य क्षति पुगेको छ। उपलब्ध विवरणअनुसार कुल दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन्। पशुपन्छीको क्षतिको अनुमानित मूल्य १११ करोड ३९ लाख रहेको छ।

सबैभन्दा धेरै संख्या कुखुराको रहेको छ। बाढीबाट करिब दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन्। संख्याका हिसाबले यो कुल पशुपन्छीको ८५.१ प्रतिशत हो तर कुखुराको मूल्य हिस्सा भने कुल क्षतिको ४.८ प्रतिशत मात्रै छ।

बाढीका कारण चार हजार ५७२ भैंसी प्रभावित हुँदा ४५ करोड ७२ लाख पुगेको अनुमान छ। यो कुल पशुधन क्षतिको ४१ प्रतिशत हो। त्यस्तै, बाख्राच्याङ्ग्रामा ३९ करोड १३ लाख अर्थात् कुल क्षतिको ३५.१ प्रतिशत र गाईगोरुमा १७ करोड ९२ लाख अर्थात् १६.१ प्रतिशत क्षति भएको छ। कुल पशुधन क्षतिमध्ये भैँसी, बाख्रा÷च्याङ्ग्रा र गाईगोरु मात्रैबाट ९२.३ प्रतिशत क्षति भएको छ।

तपाईको प्रतिक्रिया