इलाम।यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व संकलन गरेको छ।

कार्यालयले अघिल्लो आवभन्दा गत आवमा ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व संकलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए। यो अघिल्लो आवको तुलनामा पाँच दशमलव ६ प्रतिशतले बढी हो।

कार्यालयले अघिल्लो आव ०८१÷८२ मा १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व संकलन गरेको थियो। त्यसअघि आव ०८०÷८१ मा ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो।

कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व संकलन गरेको छ। सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट दुई करोड आठ लाख ६४ हजार ४५० प्राप्त गरेको थियो। त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट रु एक करोड २० लाख ६८ हजार ७९० संकलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिए।

त्यस्तै, आयकरबाट ४० लाख चार हजार ३२०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३१ हजार ३००, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट रु ९ हजार १०० र अन्य प्रशासनिक सेवा शुल्कबाट २७ हजार राजस्व संकलन गरेको थियो।

त्यसैगरी, नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु ९५ लाख दुई हजार ९०० उठाएको थियो। यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राही पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख गोपाल दाहालले बताए।–रासस

तपाईको प्रतिक्रिया