सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), साउन १२ गते ।
तमोर करिडोर सडकखण्डअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक करिब ८ः२० बजे ब्रेक फेल भई सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ट्रकमा सवार सहचालक तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का १८ वर्षीय सञ्जीव सौङ्ग्रौला भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फलामेटाबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया