धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा हाइड्रोपावरको सामग्री बोकेको ट्रक दुर्घटनापछि आगलागी हुँदा जलेर चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् ।
विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लो–बेड ट्रक सोमबार राति करिब ८ः३० बजेतिर सडकबाट चिप्लिएर भित्तामा ठोक्किएको थियो । ट्रकको ब्रेक फेल भएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।दुर्घटनालगत्तै ट्रकको अगाडिको भागमा आगलागी भएको थियो । आगो फैलिँदै जाँदा इन्धन ट्यांकीसमेत विस्फोट भई ट्रक पूर्ण रूपमा जलेर नष्ट भएको धनकुटा प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले जानकारी दिए । दुर्घटनामा ट्रकभित्र च्यापिएका भोजपुर घर भएका चालक अन्दाजी ३० वर्षीय विशाल राईको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव सोमबार राति नै निकालिएको थियो ।
ट्रकका सहचालक १८ वर्षीय तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ का सञ्जीव संग्रौला सकुशल छन् । नेपाल प्रहरी र स्थानीयको सहयोगमा राति ९ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







