झापा : नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले झापाको काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालनमा ल्याएको छ। सीमा नाकाबाट हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण र सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने लक्ष्यसहित सोमबारदेखि उक्त टोली परिचालन गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म मुख्यालय काँकरभिट्टाका अनुसार सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा पाँच महिला सहित १४ सदस्यीय टोली सादा पोशाकमा खटाइएको छ।

परिचालित टोलीमा दुई जना सशस्त्र प्रहरी नायव निरीक्षक, एक जना सशस्त्र प्रहरी सहायक निरीक्षक, एक जना वरिष्ठ हवल्दार, एक जना हवल्दार, तीन जना सहायक हवल्दार तथा बाँकी जवान रहेका छन्। बीआईटीमा खटिने सबै जनशक्ति सशस्त्र प्रहरीकै भए पनि उनीहरू बर्दीको सट्टा सादा पोशाकमा रहने व्यवस्था गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार टोलीले सीमा पार गर्ने यात्रु, विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य सर्वसाधारणलाई आवश्यक सहयोग गर्नेछ। साथै शंकास्पद व्यक्तिको गतिविधिमाथि निगरानी राख्ने, मानव बेचबिखन तथा ओसारपसार रोकथाम गर्ने, पीडितको उद्धार गर्ने, जाली नोट, लागूऔषध तथा प्रतिबन्धित सामग्रीको अवैध ओसारपसार नियन्त्रण गर्ने जिम्मेवारी पनि बीआईटीको हुनेछ।

सादा पोशाकमा परिचालित टोलीले खुला सीमा क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै सूचना संकलन, निगरानी तथा तत्काल प्रतिक्रिया दिने कार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको सशस्त्र प्रहरीको भनाइ छ।

नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको काँकरभिट्टा नाकाबाट दैनिक हजारौं मानिस आवतजावत गर्ने भएकाले सीमा सुरक्षासँगै मानव बेचबिखन, लागूऔषध कारोबार तथा अन्य अन्तरदेशीय अपराध नियन्त्रणका लागि बीआईटीको परिचालनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

-प्रदेश खवरको सहयोगमा

तपाईको प्रतिक्रिया