सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाको विरोध सिरहासम्म फैलिएको छ । घटनाको विरोधमा सोमबार सिरहाको गोलबजार र कर्जन्हा क्षेत्रमा प्रदर्शन गर्दै आन्दोलनकारीहरूले दोषीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गरेका छन् ।

गोलबजारमा भेला भएका प्रदर्शनकारीहरूले ‘मृतकलाई न्याय दे’, ‘गृहमन्त्रीले राजीनामा देऊ’, ‘गोली चलाउनेमाथि कारबाही गर’ र ‘प्रहरी दमन बन्द गर’ लगायतका नारासहित प्रदर्शन गरेका थिए । उनीहरूले घटनाको वास्तविकता सार्वजनिक गर्दै जिम्मेवारमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रहरीले गोली नचलाएको दाबी गरिए त्यसको स्पष्ट जवाफ दिनुपर्ने भन्दै गोली कसले चलायो भन्ने सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेका छन् । उनीहरूले माग पूरा नभए भोलिदेखि देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी समेत दिएका छन् ।

यसअघि दिउँसो करिब २ बजे सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर सडक अवरुद्ध गरिएको थियो । त्यसपछि आन्दोलनकारीहरूले गोलबजारमा पनि विरोध प्रदर्शन गरेका थिए । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुनसरी घटनाको विरोधमा कर्जन्हा र गोलबजारमा प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको बताए ।

प्रदर्शनकारीका प्रतिनिधिसँग छलफलको तयारी भइरहेको उल्लेख गर्दै उनले हालसम्म जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको र कुनै अप्रिय घटना नभएको जानकारी दिए । आवश्यकता परे सुरक्षा निकाय र सरोकारवाला पक्षसँग समन्वय गरी थप निर्णय लिइने उनले बताए ।

सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको तथा त्यसपछि गोली चलाउनुपरेको जनाएको छ ।

उक्त घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज ३ का २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो । घटनापछि विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन् ।

तपाईको प्रतिक्रिया