सञ्जय मिश्रा
रौतहट, ११ साउन । सवारी दुर्घटना न्यूनीकरणलाई मुख्य लक्ष्य बनाउँदै प्रदेशभर ट्राफिक प्रहरीले दुई पाङ्ग्रे सवारी चालकलाई लक्षित गरी व्यापक जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। सडक अनुशासनको विकास र सुरक्षित यात्राको संस्कार बसाल्ने उद्देश्यसहित विभिन्न जिल्लामा चालकसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइएको हो।
यसैक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले चालकहरूसँग प्रत्यक्ष छलफल गर्दै ट्राफिक नियमको पालनालाई जीवन रक्षासँग जोडिएको विषय भएको बताएका छन्। उनले हेल्मेटको अनिवार्य प्रयोग, निर्धारित गतिमा सवारी चलाउने, मादक पदार्थ सेवनपछि सवारी नचलाउने तथा ट्राफिक संकेतको पालना गर्न सबै चालकलाई आग्रह गरेका छन्।
एसपी बस्नेतले प्रदेशका सबै ट्राफिक प्रहरी कार्यालयलाई विद्यालय, बजार क्षेत्र, राजमार्ग तथा सार्वजनिक स्थानमा नियमित रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिँदै दुर्घटना रोकथामका लागि जनचेतनाभन्दा प्रभावकारी उपाय अर्को नरहेको उल्लेख गरेका छन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नवराज न्यौपानेका अनुसार ‘सुरक्षित यात्रा, जिम्मेवार चालक र अनुशासित सडक हाम्रो साझा दायित्व’ भन्ने मूल नारासहित अघि बढाइएको अभियानले उत्साहजनक नतिजा दिन थालेको छ। उनका अनुसार ट्राफिक प्रहरीले कारबाहीसँगै चेतनामूलक कार्यक्रमलाई समान प्राथमिकता दिँदा गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटेको तथ्यांकले देखाएको छ।
नेपालमा हुने अधिकांश सडक दुर्घटनामा मोटरसाइकल तथा स्कुटरजस्ता दुई पाङ्ग्रे सवारीको संलग्नता बढी देखिने गरेको छ। हेल्मेट नलगाउने, तीव्र गतिमा सवारी चलाउने, जोखिमपूर्ण ओभरटेक गर्ने र ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम झन् बढाउने गरेको छ।
यही अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दण्डभन्दा चेतनालाई प्राथमिकतामा राख्दै चालकसँग प्रत्यक्ष संवादको अभ्यास सुरु गरेको हो। सचेतनामूलक अभियानले चालकमा जिम्मेवारीबोध बढाउने अपेक्षा गरिए पनि दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणका लागि सुरक्षित सडक पूर्वाधार, प्रभावकारी ट्राफिक व्यवस्थापन, कडा कानुनी कार्यान्वयन र नागरिकको अनुशासित व्यवहार एकसाथ अघि बढ्नुपर्ने आवश्यकता भने उत्तिकै देखिएको छ।







