काठमाडौं १० साउन २०८३ – राजधानीको बत्तीसपुतलीमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ (Xi Jinping Thought on Party Building) विषयक विचार गोष्ठी सम्पन्न भएको छ।
‘फ्रेन्ड्स अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल’ (Friends on the Cloud Platform of Influencers Nepal) को आयोजनामा साे वृहत् जानकारीमूलक कार्यक्रम सम्पन्न भएको हो ।
प्लेटफर्मका अध्यक्ष तथा समाजसेवी शोभित उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिज्ञ तथा राजनीतिक विश्लेषकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विषयगत विश्लेषक तथा राजनीतिक विज्ञहरू जगन्नाथ खतिवडा, डा. गोपाल खनाल, डा. दीपक देवकोटा र महेशराज दाहालले प्रमुख वक्ताका रूपमा आफ्ना धारणा राख्नुभएको थियो।
गोष्ठीका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (CPC) को सुदृढीकरण, संस्थागत विकास र राष्ट्रपति शी जिनपिङको राजनीतिक विचारका विविध आयामबारे गहन छलफल गरिएको थियो। माओत्सेतुङको नेतृत्वकालदेखि वर्तमान शी जिनपिङको युगसम्म आइपुग्दा चीनमा कम्युनिस्ट शासन प्रणाली कसरी स्थापित र सुदृढ भयो भन्ने इतिहास र अभ्यासमाथि वक्ताहरूले प्रकाश पार्नुभएको थियो।
साथै, वर्तमान परिवेशमा राष्ट्रपति शी जिनपिङले देश र जनताको आवश्यकतालाई केन्द्रमा राखी कसरी गहन अध्ययन तथा रणनीतिक योजनाका साथ चीनको शासन प्रणालीलाई अगाडि बढाइरहनुभएको छ भन्ने विषयमा विशेष चर्चा भएको थियो। कार्यक्रममा सहभागी राजनीतिक विश्लेषकहरूले चिनियाँ विकास मोडल र पार्टी निर्माणको अवधारणाबाट नेपालजस्ता विकासोन्मुख देशहरूले लिनसक्ने सकारात्मक पाठहरूबारे समेत आफ्ना तर्कहरू प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका महासचिव तारा बस्यालले सञ्चालन गर्नुभएको साे कार्यक्रममा सीमाविद् डा. विष्णुहरि नेपाल, द्वन्द्वविद् विष्णुप्रसाद उप्रेती, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, पूर्व प्रहरी महानिरीक्षक रमेश खरेलका साथै वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतका विभिन्न ओहाेदाका विशिष्ट व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।







