काठमाडौं। प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पाँचथरको फालेलुङ गाउँपालिका ५ लुङमादिनमा गएको पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।
आङ्देम्बेले पहिरोका कारण तीन परिवार पूर्ण रूपमा विस्थापित भएका र ३५ परिवारका १६८ जना नागरिक उच्च जोखिममा रहेकाप्रति चिन्ता व्यक्त गरे।
संघ, प्रदेश र स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा सबै सुरक्षा निकायलाई तत्काल प्रभावित क्षेत्रमा परिचालित हुन र आपसी सहकार्य र समन्वयबाट उद्धार, राहत र पुनःस्थापनामा लाग्न उहाँले आज विज्ञप्ति जारी गरी अनुरोध गरे।
‘प्रभावित नागरिकको जीवनरक्षा, तत्काल उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा विस्थापितको उचित व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा काम गर्न सम्बन्धित सबै निकायलाई हार्दिक अनुरोध गर्दछु,’ आङ्देम्बेले विज्ञप्तिमार्फत भने।
जिल्लास्थित राजनीतिक दल, स्वयंसेवी संस्था र सामाजिक संघसंस्थालाई पनि प्रभावित क्षेत्रमा सक्रिय रूपमा खटिन उनले आग्रह गरे। ‘जिल्लास्थित सम्पूर्ण राजनीतिक दल र स्वयंसेवी संस्थाका प्रतिनिधिलाई प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित भई राहत, उद्धार, खाद्यान्न, अस्थायी आवास तथा अन्य आवश्यक मानवीय सहयोग उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछु,’ उनले भने।
निरन्तर वर्षासँगै थप पहिरोको जोखिम कायम रहेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्नेमा नेता आङ्देम्बेको जोड छ। राहत सामग्रीको अभाव हुन नदिन र विस्थापितको दीर्घकालीन पुनस्र्थापनाको योजना शीघ्र अघि बढाउन पनि उनले सरकारसँग आग्रह गरे।







