उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसको मानव संशाधन विकास तथा पदपूर्ति उप– समितिको आयोजनामा सञ्चालित “शैक्षिक संस्थामा द्वन्द्व व्यवस्थापन” विषयक दुईदिने तालिम आइतबार सम्पन्न भएको छ।
उर्लाबारी–४ स्थित क्याम्पसमा आयोजित समापन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य तथा उप–समिति संयोजक मुक्ति प्रकाश न्यौपानेले सभापतित्व गरेका थिए। तालिममा मानव अधिकार मञ्च नेपालका सहजकर्ता मनकुमार बराइली र सन्तोष मगरले प्रशिक्षण दिएका थिए।
क्याम्पस प्रमुख खेमराज कार्कीका अनुसार तालिमको मुख्य उद्देश्य शैक्षिक संस्थाभित्र उत्पन्न हुन सक्ने विभिन्न प्रकारका द्वन्द्वको पहिचान, विश्लेषण तथा शान्तिपूर्ण र प्रभावकारी व्यवस्थापन गर्ने सीप अभिवृद्धि गर्दै सकारात्मक, सुरक्षित र सहयोगात्मक शैक्षिक वातावरण निर्माण गर्नु रहेको थियो।
तालिमको पहिलो दिन द्वन्द्वको अवधारणा, प्रकृति र व्यवस्थापनका आधारभूत विषयमा प्रशिक्षण दिइएको थियो भने दोस्रो दिन शैक्षिक संस्थामा देखापर्ने द्वन्द्वका प्रकार, द्वन्द्व उत्पन्न हुने कारण, त्यसका प्रभाव, प्रभावकारी संवाद, समन्वय, सहकार्य, नेतृत्वको भूमिका तथा द्वन्द्व समाधानका व्यावहारिक उपायबारे विस्तृत प्रस्तुति गरिएको थियो। साथै व्यवहारिक अभ्यास, केस अध्ययन, भूमिका निर्वाह तथा अन्तरक्रियात्मक प्रशिक्षणमार्फत सहभागीलाई व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
तालिममा क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा संयोजक न्यौपानेले शैक्षिक संस्थामा स्वस्थ सम्बन्ध विकास गर्न, आपसी विश्वास अभिवृद्धि गर्न तथा विवादलाई संवाद र समझदारीमार्फत समाधान गर्न यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा उप– समितिका सदस्य जीवनकुमार घिमिरेले तालिमबाट सहभागीहरूमा द्वन्द्व व्यवस्थापनसम्बन्धी ज्ञान, सीप र सकारात्मक सोचको विकास भई क्याम्पसभित्र थप सहयोगात्मक, सुरक्षित र सौहार्दपूर्ण शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
“संवाद, सहकार्य र समझदारी—शान्तिपूर्ण शैक्षिक वातावरणको आधार” भन्ने नारासहित सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरूलाई शैक्षिक संस्थामा उत्पन्न हुने विवादलाई संवाद, सहकार्य र समझदारीका माध्यमबाट समाधान गर्ने व्यावहारिक क्षमता विकास गर्न सहयोग पुगेको क्याम्पसका कार्यवाहक अध्यक्ष मीनकुमार दाहालले बताएका छन्।
-राष्ट्रिय समाचारपत्रको सहयोगमा







