पाँचथर::पन्ध्र शैया सञ्चालनको स्विकृति रहेको पाँचथर जिल्ला अस्पताललाई ६५ शैयामा विस्तार गरिएपनि पनि जनशक्ति, पूर्वाधार र उपकरण व्यवस्थापन भने चुनौती देखिएको छ ।
१५ शैयाको स्वीकृति पाएको अस्पताललाई विकसा समितिले तीन वर्ष अघिदेखि ६५ शैयामा सेवा विस्तार गरेको छ ।
तर आवश्यकता अनुसार चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, बजेट र भौतिक पूर्वाधार विस्तार हुन नसक्दा सेवा व्यवस्थापनमा दबाब बढेको हो ।
परामर्शदाता संस्था पाथिभरा परामर्श केन्द्रले गरेको आर्थिक वर्ष २०८२।०८३ को सामाजिक परिक्षण प्रतिवेदनमा यी समस्या समाधान हुनुपर्ने विषयलाई प्राथमिकता साथ उठाइएको छ ।
अस्पतालले ल्याव,भिडियो एक्स रे,इन्डोस्कोपी,इसिजि, सल्यक्रिया(गाइनो र अर्थो),फिजियोथेरापी,लैंगिक हिंसा र सामाजिक इकाइ सेवाहरु,फार्मेसी सेवा,दन्त र आँखा उपचार सेवा,परिवारनियोजन र सुरक्षित गर्भपतन,तथा अक्सिजन प्लान्ट र एम्वुलेन्स सेवा सञ्चालन गरिरहेको छ ।
यत्तिका सेवा सञ्चालन गर्न आवस्यक अनमी,डार्करुम असिस्टेन्थ,खरिदार र अहेव जस्ता दरबन्दीमा कर्मचारी रहेको र कार्यरत मध्ये अधिकांस अस्पताल विकास समितिबाट करारमा नियुक्ती गरेको पाइएको सामाजिक परिक्षण प्रतिवेदनले देखाएको छ ।
विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्तिको अभावले कार्यरत कर्मचारी माथि कार्यबोझ बढेको अस्पताल प्रमुख डा. बुद्धिबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार न्यूनतम सेवा मापदण्डअनुसार वार्ड, उपकरण र आवश्यक सामग्रीको व्यवस्थापन अझ सुदृढ बनाउन आवश्यक छ। बढ्दो बिरामीको चापका कारण उपलब्ध स्रोत–साधनले मात्रै सेवा व्यवस्थापन गर्न कठिन भइरहेको उहाँले बताउनुभयो ।
प्रतिवेदनमा हेमोडायलाइसिस सेवाका लागि थप मेसिन र दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख छ। आकस्मिक सेवा र भर्ना सेवामा चिकित्सक, स्टाफ नर्स, प्यारामेडिक्स तथा सहयोगी कर्मचारीको अभाव रहेको पनि औँल्याइएको छ ।
फार्मेसी, वार्ड व्यवस्थापन, स्वास्थ्य बिमा र अन्य सेवामा पनि स्रोतसाधन तथा व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।
विशेषज्ञ चिकित्सकको उपलब्धता, स्वास्थ्य बिमामार्फत उपचार, सामाजिक सेवाअन्तर्गत विपन्न तथा असहाय नागरिकलाई सहुलियत र जिल्लामै जटिल उपचार सेवा विस्तार भएपछि सर्वसाधारणलाई राहत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक परीक्षणले अस्पतालले सेवा विस्तारमा उपलब्धि हासिल गरे पनि त्यसलाई दिगो बनाउन जनशक्ति पूर्ति, पूर्वाधार विस्तार, आधुनिक उपकरण व्यवस्थापन, पर्याप्त बजेट र प्रभावकारी सेवा व्यवस्थापनमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
सामाजिक परीक्षण प्रतिवेदन प्रश्तुतीकरण पश्चात आयोजित अन्तरक्रियामा सहभागीहरुले पाँचथर अस्पताल इलामको आधा भाग सहित ताप्लेजुङ र तेह«थुमका बिरामीलाई पनि पायक पर्ने भएकाले आवश्यकता अनुसारका कर्मचारीको पदपुर्ती आवश्यक उपकरण खरिद र उपयोगमा जोड दिनुपर्ने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति पाँचथरका प्रमूख रामराज आङदेम्वेले प्राप्त सुझावलाई कार्यन्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।







