विराटनगर : मोरङको पथरीशनिश्चरेस्थित एक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरीपछि सोही विद्यालयका शिक्षक ३८ वर्षीय प्रकाश अधिकारीलाई पक्राउ गरिएको हो।

झापाको गौरादह नगरपालिका–४ निवासी अधिकारीलाई आइतबार (साउन ९) इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना साउन ६ गते बिहान करिब १०ः१५ बजे भएको थियो। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोस्ट हसन्दहबाट खटिएको टोलीले शिक्षक अधिकारीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका शिक्षकलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

तपाईको प्रतिक्रिया