काठमाडौँ, साउन ९ गते । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित दुई जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले डिभिजन प्रमुख सिडिई अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीलाई सात लाख ५० हजार रुपियाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा टोली खटिएको थियो ।

टोलीले सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वाटरबाट उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

अख्तियारले उनीहरूको साथबाट घुसबापत लिएको सात लाख ५० हजार रुपियाँ, स्रोत नखुलेको ७१ हजार १ सय १५ रुपियाँ तथा तीन थान मोबाइल बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया