गृहमन्त्री सुधन गुरुङले सीमानाकाको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयम् जाने अभ्यासको सट्टा मन्त्रीस्तरीय टास्क फोर्स गठन गर्ने तयारी गरिएको बताएका छन् ।
शुक्रबार राष्ट्रियसभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् ।
उनले गृहमन्त्री सीमा नाकामा पुग्दा भिडभाड बढ्ने, काम गर्न असहज हुने तथा कतिपयले त्यसलाई ‘स्टन्ट’को रूपमा टिप्पणी गर्ने गरेको उल्लेख गरे ।
‘सीमा नाकामा अब गृहमन्त्री जानेभन्दा पनि मन्त्रिस्तरीय टास्क फोर्स बनाउने योजना बनाएका छौँ । गृहमन्त्री जाँदा धेरैले घेर्नुहुँदो रहेछ । काम गर्नै गाह्रो हुने रहेछ । कतिपयले स्टन्ट पनि भनिदिनुहुँदो रहेछ । अब हामीले बुझिसक्यौँ,’ उनले भने ।
गृहमन्त्री गुरुङले अब सादा पोशाकमा खटिने विशेष युनिटमार्फत सीमा क्षेत्रमा पुगेर जनताको समस्या बुझ्ने र नियमित अनुगमन गरिने पनि बताए ।







