विराटनगर/ विराटनगर–रानी सीमा नाकाबाट अवैध रूपमा भारततर्फ ओसारपसार गर्न लागिएको २३ कार्टुन चिनियाँ स्याउ सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर रानीबाट डीएसपी तिलकबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार रानी सीमा क्षेत्रस्थित चाइना बजारको एक होटलको पछाडिको झ्यालबाट स्याउ लोड गरिरहेको अवस्थामा उक्त परिमाणको स्याउ नियन्त्रणमा लिएको हो।

डीएसपी खड्काका अनुसार बरामद गरिएको स्याउ आवश्यक कानुनी प्रक्रिया पूरा गरी विराटनगर भन्सार कार्यालयमा बुझाइनेछ। बरामद स्याउको मूल्यांकन तथा घटनाबारे थप अनुसन्धान सम्बन्धित निकायबाट भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय व्यापारीका अनुसार विराटनगरबाट थोकमा खरिद गरिएका चिनियाँ स्याउ दैनिक रूपमा १० देखि २० जना मजदुर परिचालन गरी एक–दुई कार्टुनका दरले भारतको जोगबनी पुर्‍याउने गरिएको छ। यसपटक भने ठूलो परिमाणमा एकैचोटि स्याउ ओसारपसार गर्ने तयारी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा पारेपछि उक्त स्याउ बरामद गर्न सफल भएको हो।

स्थानीयवासीका अनुसार रानी सीमा क्षेत्रमा बेला–बेलामा यस्ता अवैध ओसारपसारका गतिविधि हुने गरेका छन्। यस्ता गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता स्थानीयले औंल्याएका छन्।

तपाईको प्रतिक्रिया