विराटनगर । सशस्त्र प्रहरी बलले मोरङको नेपाल–भारत सीमा क्षेत्रमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको १४ लाख १२ हजार ३०० रुपैयाँ बराबरको लत्ताकपडा, हरियो तरकारी तथा सवारी साधन बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनीका अनुसार बुधबार सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा तीनवटा मोटरसाइकलमार्फत ल्याइँदै गरेको १२ लाख २७ हजार ३०० रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो।
त्यसैगरी, सीमा सुरक्षा पोस्ट (बिओपी) दरैयाबाट परिचालित मोबाइल गस्ती टोलीले एक सिटी सफारीमा ओसारपसार गरिँदै गरेको करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको हरियो तरकारी बरामद गरेको जनाएको छ।
बरामद भएका लत्ताकपडा, हरियो तरकारी, तीनवटा मोटरसाइकल र सिटी सफारीसहित कुल १४ लाख १२ हजार ३०० रुपैयाँ बराबरको सामान आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि गस्ती र निगरानी थप कडा बनाइएको सशस्त्र प्रहरीको भनाइ छ।







