मोरङ, ७ साउन । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका गाडी चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार गत साउन ३ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ मा तत्काल नम्बर नखुलेको सवारी साधनले पैदल यात्री पथरीशनिश्चरे-१० त्रिवेणी चोक बस्ने ६० वर्षका गोबिन्द लिम्बुलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान तथा खोजतलास तीव्र बनाएको थियो।
इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा साउन ६ गते उक्त दुर्घटनामा संलग्न गाडी र चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका-५ स्थित ‘हेभी इक्वुमेन्ट सडक डिभिजन विभाग इटहरी’ को कार्यालय परिसरभित्र लुकाइछिपाई राखिएको अवस्थामा बा २ झ २२२६ नम्बरको गाडी र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा नियन्त्रणमा लिएको जानकारी दिएको छ।
दुर्घटनामा संम्लग्न चालक सिरहा जिल्ला, सुखीपुर गाउँपालिका वडा नं. ८ बस्ने ४४ वर्षका राम उद्गार मण्डललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।
पक्राउ परेका चालक र नियन्त्रणमा लिइएको गाडीलाई इलाका प्रहरी कार्यालय पथरी, मोरङमा ल्याएर घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।







