वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्दा अब अनलाइनबाट नै उजुरी गर्न सकिने भएको छ । ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक पोर्टलमार्फत आफू रहेकै ठाउँबाट उजुरी दिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।
यस पोर्टलको मंगलबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले औपचारिक शुभारम्भ गर्दै अब पीडितहरूले न्याय माग्न काठमाडौं धाउन पर्ने बाध्यताको अन्त्य भएको बताएका छन् ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैरकानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीडित श्रमिकलाई सहजरूपमा न्याय उनको भनाइ छ ।
यसअघि वैदेशिक रोजगारसम्बन्धी ठगीको उजुरी दिन पीडितहरू प्रमाणसहित विभागमै उपस्थित हुनुपर्ने व्यवस्था थियो । सीमित जनशक्ति र स्रोत–साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीडितले काठमाडाैंमा बसोवास र अन्य खर्चसमेत व्यहोर्नुपर्ने अवस्था थियो ।
तर अब भने ठगीमा परेका व्यक्तिले आफ्नै मोबाइल वा कम्प्युटरबाट आवश्यक कागजात अपलोड गरी अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्नेछन् । विभागले उजुरीको अध्ययनपछि दर्ता प्रक्रिया अघि बढाउने जनाएको छ ।
उजुरी दर्ता भएपछि एसएमएस र इमेलमार्फत जानकारी प्राप्त गर्नेछन् भने उपलब्ध गराइने ट्र्याकिङ कोड प्रयोग गरी जुनसुकै बेला आफ्नो उजुरीको अवस्थाबारे जानकारी लिन सकिन्छ ।







