झापा : सातौँ झापा गोल्डकपको सहप्रायोजक अन्तर्राष्ट्रिय झापाली समाजले प्रतिबद्धताअनुसार ४ लाख रुपैयाँ सहयोग गरेको छ। बिर्तामोडस्थित होटल होलिडे होममा सोमबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाई र उपाध्यक्ष नवीन पोखरेलले झापा गोल्डकपका अध्यक्ष केदार गिरीलाई संयुक्त रूपमा ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
रकम हस्तान्तरणसँगै दुवै संस्थाबीच आगामी दिनमा आपसी सहकार्यलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। कार्यक्रममा झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, गोल्डकपका सदस्य मदन खड्का र केशव भट्टराई उपस्थित थिए। अन्तर्राष्ट्रिय झापाली समाजको नेपाल समन्वय समितिका सचिव सुदर्शन रोका तथा सदस्य विजय मगर र वीरु दर्नाललगायतको पनि सहभागिता रहेको थियो। मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा परिचित सातौँ झापा गोल्डकप गत आर्थिक वर्षमा माघ २४ देखि फागुन ४ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितालाई सफल बनाउन अन्तर्राष्ट्रिय झापाली समाजले सहप्रायोजकका रूपमा आर्थिक तथा नैतिक सहयोग गर्दै आएको आयोजकले जनाएको छ।







