चिनियाँ राष्ट्रपति सी चिनपिङले कृत्रिम बुद्धिमत्ता एआई को क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने स्पष्ट संकेत दिनुभएको छ । सांघाईमा आयोजित विश्व एआई सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

सीले चीनको नेतृत्वमा स्थापना गरिएको विश्व कृत्रिम बुद्धिमत्ता सहकार्य संगठनलाई एआई विकासको इतिहासमा महत्वपूर्ण कोसेढुंगा भएको बताउनु भएको छ । यो संगठनमा रुस, ब्राजिल, इन्डोनेसियासहित ३० देश सहभागी भए पनि अमेरिका तथा अधिकांश पश्चिमी राष्ट्रहरू भने आबद्ध छैनन् ।

चीनका एआई स्टार्टअपहरूले हालै सार्वजनिक गरेका नयाँ भाषा मोडलहरूले अमेरिकी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको दाबी गरिएको छ । विश्लेषकहरूका अनुसार एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उच्च लगानी र बजारको अनिश्चितताले लगानीकर्तामा सावधानी बढाएको छ ।

सी चिनफिङले एआईको सुरक्षित, जिम्मेवार र समावेशी विकासका लागि विश्वव्यापी मापदण्ड आवश्यक रहेको उल्लेख गर्दै चीनले अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने बताउनु भएको छ । उहाँका अनुसार एआई मानव विकासका लागि अवसर बन्नुपर्छ, प्रतिस्पर्धा र जोखिमको स्रोत मात्र होइन ।

विशेषज्ञहरूका अनुसार एआई क्षेत्रमा चीनको यो सक्रिय पहलले प्रविधि, व्यापार र भू–राजनीतिमा अमेरिका–चीन प्रतिस्पर्धालाई अझ तीव्र बनाउने सम्भावना छ ।

तपाईको प्रतिक्रिया