विराटनगर । फिफा विश्वकप २०२६ मा इङ्ग्ल्याण्डले तेस्रो स्थान हासिल गर्दै कास्य पदक जितेको छ । अमेरिकाको मायामीमा तेस्रो स्थानका लागि भएको खेलमा इङ्ग्ल्याण्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै प्रतियोगिताको तेस्रो स्थान सुरक्षित गरेको हो ।

खेलको तेस्रो मिनेटमै इङ्ग्ल्याण्डले अग्रता लिएको थियो । डेक्लान राइसले पहिलो गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि १८औँ मिनेटमा कोन्साले गोल थप्दै अग्रता २–० बनाए । ३७औँ मिनेटमा बुकायो साकाले गोल गरे भने पहिलो हाफको इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई पहिलो हाफमै ४–० को बलियो अवस्थामा पुर्‍याए ।

पहिलो हाफमा चार गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा आक्रामक सुरुआत गर्‍यो । दोस्रो हाफको तेस्रो मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सका लागि खाता खोले । त्यसको छ मिनेटपछि बार्कोलाले अर्को गोल गर्दै अन्तर ४–२ मा झारे । ६१औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने प्रयास गरे । इङ्ग्ल्याण्डविरुद्ध गरेका दुई गोलसँगै एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरे । उनले यसअघि लियोनेल मेस्सीको नाममा रहेको २१ गोलको कीर्तिमान तोड्दै विश्वकपमा २२ गोल गर्ने पहिलो खेलाडी बने ।

खेलको ८७औँ मिनेटमा इङ्ग्ल्याण्डले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै साकाले ह्याट्रिक पूरा गरे र टोलीका लागि पाँचौँ गोल गरे । इन्ज्युरी समयमा डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गर्दै खेललाई ५–४ को रोमाञ्चक अवस्थामा पुर्‍याए । तर खेलको अन्तिम मिनेटमा जुड बेलिङ्घमले इङ्ग्ल्याण्डका लागि छैटौँ गोल गर्दै टोलीको ६–४ को जित सुनिश्चित गरे ।

एम्बाप्पे गोल्डेन बुट दौडको शीर्षस्थानमा

फ्रान्स चौथो स्थानमा सीमित भएर प्रतियोगिताबाट बाहिरिए पनि स्टार फरवार्ड किलियन एम्बाप्पे भने गोल्डेन बुटको दौडमा शीर्षस्थानमा रहेका छन् । प्रतियोगिताभर उनले १० गोल र ४ असिस्ट गरेका छन् । तेस्रो स्थानको खेलमा दुई गोल थपेपछि उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई पछि पारेका हुन् ।

एम्बाप्पेको नाममा १० गोल र ४ असिस्ट छन् भने मेस्सीले ८ गोल र ४ असिस्ट गरेका छन् । अर्जेन्टिनाले अझै फाइनल खेल्न बाँकी रहेकाले मेस्सीसँग गोल्डेन बुट जित्ने सम्भावना कायम छ । त्यसका लागि उनले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्नेछ । यस्तै, स्पेनका माइकल ओयार्जाबाल ५ गोलसहित गोल्डेन बुटको दौडमा छन् ।

तपाईको प्रतिक्रिया