विराटनगर । कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेशका रूपमा घोषणा गरिएको छ ।कोशी प्रदेशका सबै १४ जिल्ला, १३७ स्थानीय तह र १ हजार १५७ वडाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि प्रदेशस्तरीय घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।
स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश सरकार तथा प्रदेश खोप समन्वय समितिको सचिवालय, स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन प्राथमिकता दिएको बताउनुभयो ।उहाँले वडा स्तरबाट नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो । उहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सेवा–सुविधा वृद्धि गर्न सकिने विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो। स्वास्थ्य सेवाको गुणस्तर सुधार, अस्पतालहरूको स्तरोन्नति तथा सेवाग्राहीले सहज रूपमा उपचार पाउने वातावरण निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशका अञ्चल तथा पालिका अस्पतालहरूको व्यवस्थापन क्रमशः प्रदेशको जिम्मेवारीमा आउँदै गएको उल्लेख गर्दै सीमित स्रोत–साधनका बाबजुद उपलब्ध क्षमताअनुसार गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागी आफुले कुनै पनी किसिमको कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। भौगोलिक विविधतालाई ध्यानमा राखेर स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिँदै शिक्षा र स्वास्थ्य सेवाको सुधारबाट बसाइँसराइ न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कोशी प्रदेश सरकारकै महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अब यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा सबै पक्षको समान जिम्मेवारी रहने बताउनुभयो । उहाँले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने सुनिश्चित गर्न नियमित अनुगमन र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।उहाँले खोपबाट कुनै पनी बालवालिका बञ्चित प्रदेश भित्र नहुने बताउनुभयो । स्थानिय वडा देखी प्रदेश सम्म पूर्ण रुपमा खोप सुनिश्चित भएकाले आगामी दिनमा पनी खोप कार्यक्रमलाई प्रभावकारी बनाउदै लगिने उहाँले बताउनुभयो ।
स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारी ले बालवालिकालाई लगाईने खोप अपरिहार्य भएको उल्लेख गर्दै हरेक बालबालिकालाई खोपको पहुँचमा समुदाय स्तरमा पुयाउनको लागी प्रदेश सरकार स्वास्थ्य निर्देशनालय लागी परेको बताउनुभयो । समुदाय स्तरमा खोपको व्यापक मात्रामा प्रयोगको सन्दर्भमा समुदाय स्तरमा शिक्षा पुयाउनको लागी आफुहरु लागी परेको उहाँले बताउनुभयो ।
प्रदेश खोप समन्वय समितिका सचिव तथा प्रादेशिक खोप फोकल पर्सन सागर प्रसाईंले नेपालमा २०३४ सालदेखि राष्ट्रिय खोप कार्यक्रम सञ्चालनमा आएको र २०७२ सालमा खोप ऐन लागू भएपछि खोप कार्यक्रम थप संस्थागत भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल सरकारले १४ प्रकारका सरुवा रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराउँदै आएको छ । खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण कोशी प्रदेशका सबै जिल्ला, स्थानीय तह र वडाले पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा पूर्णखोप सुनिश्चिततासँगै यसको दिगोपनाका लागि स्थानीय स्रोत, स्वामित्व र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिइएको थियो ।







