काठमाडौं, असार १९ — बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गुणस्तरीय शिक्षा, लोकतान्त्रिक मूल्य र सामाजिक उत्तरदायित्वबीचको समन्वय समयको प्रमुख आवश्यकता भएको बताएका छन्।

जी.पी. कोइराला मेमोरियल (सामुदायिक) कलेजको १५औँ वार्षिकोत्सव तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभई जिम्मेवार, नैतिक तथा राष्ट्रप्रति समर्पित नागरिक निर्माण गर्ने आधार भएको बताए।

मुख्यमन्त्री बानियाँले सामुदायिक शैक्षिक संस्थाहरूले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यस्ता संस्थाको गुणस्तर अभिवृद्धि र दिगो विकासका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

उनले नेपाली लोकतान्त्रिक आन्दोलनका प्रमुख अभियन्ता गिरिजाप्रसाद कोइरालाको लोकतन्त्र स्थापना, राष्ट्रिय एकता तथा शान्ति प्रक्रियामा रहेको ऐतिहासिक योगदानको स्मरण गर्दै नयाँ पुस्ताले उहाँका आदर्श, त्याग र लोकतान्त्रिक मूल्यलाई अनुसरण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कलेजको १५ वर्षे शैक्षिक यात्रा, संस्थाले हासिल गरेका उपलब्धि तथा भावी योजनाबारे जानकारी गराइएको थियो। वक्ताहरूले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धानमुखी अध्ययन, सीप विकास तथा सामाजिक उत्तरदायित्वमा आधारित शिक्षालाई प्रभावकारी बनाउन सरकार, शैक्षिक संस्था र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा शिक्षाविद्, राजनीतिक नेतृत्व, प्राध्यापक, विद्यार्थी, अभिभावकलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया