काठमाडौँ, असार १९ गते । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनामा दुईदिने लगानी सम्मेलन बिहीबार सुरु भएको छ ।

कार्यक्रममा चीनको अन्तर्राष्ट्रिय वाणिज्य महासङ्घ, द्विपक्षीय सहयोग विभागका महानिर्देशक सु छ्याङले चीन र नेपालबिच इतिहासदेखि सुमधुर सम्बन्ध रहेको बताउँदै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न उत्साही रहेको बताउनुभयो । उहाँले कार्यक्रम द्विपक्षीय सहयोगका अवसर सदुपयोग गर्न उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

चीनका लागि कार्यवाहक नेपाली राजदूत श्रीमती रोशन खनालले लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ता र व्यापारीलाई नेपालका विभिन्न क्षेत्रमा रहेका अवसरको उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल चिनियाँ लगानीका लागि उपयुक्त रहेको र नेपालमा हुने लगानीबाट राम्रो प्रतिफल रहने विचार व्यक्त गर्नुभयो । चीनले जुलाई १ देखि विदेशमा चिनियाँले गर्ने लगानीमा नयाँ नीति ल्याएको र यो नयाँ नीतिबाट नेपालले पनि फाइदा लिने भएकाले चीन सरकारप्रति आभार प्रकट खनालले गर्नुभयो ।

नेपाली दूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन परिषद्् र चीनको अन्तर्राष्ट्रिय वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भएको कार्यक्रममा नेपाली दूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालमा लगानीका क्षेत्रमाथि प्रकाश पार्दै जलविद्युत्, पर्यटन, सेवाक्षेत्र, स्वास्थ्य, पूर्वाधार, शिक्षालगायतका क्षेत्रमा लगानी गर्नका लागि प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा नेपालको व्यापार तथा निर्यात प्रवर्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह, नेपाल उद्योग वाणिज्य महासङ्घको निर्यात समितिका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र लुम्बिनी फर्मासिटिकल प्रालिका अध्यक्ष डा. ध्रुव भट्टराईले नेपालमा लगानीका अवसरबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपालमा लगानी गरिरहेका चिनियाँ कम्पनीका प्रतिनिधिले आफ्ना अनुभव राख्दै नेपालमा लगानीको राम्रो अवसर भएको बताएका थिए । सम्मेलनको पहिलो दिन चीनका करिब ८० कम्पनीका लगानीकर्ता र नेपालका करिब २५ लगानीकर्ताको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया