काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ देखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको छ।

बैंकको १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६।२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिनेछ।

यद्यपि, मागभन्दा बढी आवेदन परे सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने बैंकले जनाएको छ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

तपाईको प्रतिक्रिया