विराटनगर/ नेपाल क्षयरोग निवारण संस्था, मोरङले कोशी अस्पताल प्रशासनले जग्गा खाली गर्न दिएको पत्रप्रति गम्भीर आपत्ति जनाएको छ। संस्थाले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मानव सेवामा समर्पित संस्थामाथि संवेदनशीलता नदेखाई जग्गा खाली गर्न निर्देशन दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो।
संस्थाका कार्यवाहक अध्यक्ष भैरव क्षेत्रीले कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले असार ५ गते १५ दिनभित्र जग्गा खाली गर्न पत्र पठाएको जानकारी दिँदै उक्त निर्णय मानवीय संवेदनशीलताविपरीत भएको बताए। उनका अनुसार क्षयरोग निवारण तथा बिरामीको सेवामा लामो समयदेखि क्रियाशील संस्थालाई वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिनु दुःखद् हो।
क्षेत्रीले संस्थापक अध्यक्ष स्वर्गीय मातृका प्रसाद कोइरालाको नेतृत्वमा २०१६ सालमा स्थापना भएको नेपाल क्षयरोग निवारण संस्थाले दशकौँदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गरे। उनले विगतमा कोशी अस्पतालले नै संस्थालाई भाडा तिर्दै आएको स्मरण गराउँदै अहिले सोही संस्थालाई जग्गा खाली गर्न अल्टिमेटम दिइनु विडम्बनापूर्ण भएको बताए।
उनका अनुसार जग्गा विवादसम्बन्धी मुद्दामा उच्च अदालत विराटनगरले नेपाल क्षयरोग निवारण संस्थालाई वैकल्पिक व्यवस्थापन गरेपछि मात्र स्थान खाली गराउन निर्देशनात्मक आदेश दिएको छ। सो आदेश कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग पटक–पटक आग्रह गरिए पनि हालसम्म कुनै सुनुवाइ नभएको उनले बताए। “हामीलाई उपयुक्त स्थानको व्यवस्था गरिदिए तत्काल स्थानान्तरण हुन तयार छौँ,” क्षेत्रीले भने।
संस्थाले हाल उपचाररत क्षयरोगी बिरामीको सेवामा कुनै अवरोध नआउने व्यवस्था गर्न पनि माग गरेको छ। बिरामीको उपचारको जिम्मेवारी कोशी अस्पतालले लिनुपर्ने वा संस्थाका लागि वैकल्पिक स्थान उपलब्ध गराइनुपर्ने भन्दै नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मीलाई संस्थाको संरक्षणका लागि सहयोग गर्न आग्रह गरिएको छ।
कोशी अस्पतालको नाममा ५ बिघा ८ कठ्ठा ९ धुर जग्गा रहेको छ। उक्त जग्गाको दक्षिणी क्षेत्रमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय तथा गणेश मन्दिर रहेका छन्। संस्थाले करिब ११ कठ्ठा जग्गा उपयोग गर्दै आएको जनाएको छ। त्यसमध्ये २ कठ्ठा ११ धुर क्षेत्रमा गणेश मन्दिर निर्माण गरिएको छ भने केही जग्गा अस्पताललाई समेत उपलब्ध गराइएको संस्थाको दाबी छ।







