विराटनगर : कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य निर्देशनालयले आवश्यक प्रमाणीकरण र समन्वयका प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ।
मंगलबार विराटनगरमा आयोजित राष्ट्रिय खोप कार्यक्रमको समीक्षा तथा प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिइएको हो।
कार्यक्रमका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका खोप सुपरभाइजर भारत भण्डारीका अनुसार असार २८ देखि ३० गतेभित्र घोषणासँग सम्बन्धित सबै तयारी कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। उनका अनुसार १४ वटै जिल्लाबाट प्रमाणीकरण तथा अनुमोदनका लागि आवश्यक प्रतिवेदन र सिफारिस प्रदेश खोप समन्वय समितिमा प्राप्त भइसकेका छन्।
भण्डारीले राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा १२ देखि २३ महिनासम्मका बालबालिकामध्ये ७८ प्रतिशतले मात्रै सबै आधारभूत खोप पाएको जानकारी दिए। १६ प्रतिशत बालबालिका आंशिक खोपमै सीमित रहेको र ४ प्रतिशतले एउटा पनि खोप नपाएको तथ्यांकले देखाएको उनले बताए।
उनले अझै केही बालबालिका खोपबाट छुटिरहेको उल्लेख गर्दै सरकार, स्थानीय तह, स्वास्थ्यकर्मी, समुदाय र अभिभावकबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
प्रदेशलाई पूर्णखोप सुनिश्चित घोषणा गर्न नियमित खोपको उपलब्धि ९५ प्रतिशतभन्दा माथि हुनुपर्ने, घरधुरी सर्वेक्षणमार्फत छुटेका बालबालिकाको पहिचान गरी खोप पूरा गरिनुपर्ने, खोप अभिलेख तथा ट्र्याकिङ प्रणाली अद्यावधिक हुनुपर्ने, कोल्डचेन व्यवस्थापन मापदण्डअनुसार सुदृढ हुनुपर्ने तथा वडा, स्थानीय तह, जिल्ला, प्रदेश र संघीय तहबाट प्रमाणीकरण प्रक्रिया पूरा हुनुपर्ने मापदण्ड रहेको कार्यक्रममा जानकारी दिइयो।
हाल कोशी प्रदेशका १४ जिल्लाका एक हजार १ सय ५७ वटै वडा र १३७ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गरी घोषणा भइसकेका छन्।
जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा ठाकुरले अझै १६ प्रतिशत बालबालिका किन पूर्णखोपबाट वञ्चित भए भन्ने विषयको गम्भीर समीक्षा गर्नुपर्ने बताइन्। उनले पहुँच, सूचना वा अभिलेखीकरणमध्ये कुन कारणले बालबालिका छुटेका हुन् भन्ने पहिचान गरी आगामी दिनमा सुधार गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा खोप कभरेजमा देखिएको असमानता, स्थानीय तहमा कोल्डचेन व्यवस्थापन, खोपबाट बचाउन सकिने रोगको जोखिम तथा समुदायस्तरसम्म खोपको पहुँच विस्तारका विषयमा पनि छलफल गरिएको थियो।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यधुचन्द्र घिमिरेले खोप अभियानमा योगदान गर्ने सबै पक्षलाई धन्यवाद दिँदै पूर्णखोप घोषणाका लागि अन्तिम तयारी तीव्र गतिमा अघि बढिरहेको बताए। उनले पोलियो उन्मूलन र नवशिशु धनुष्टंकार निवारणजस्ता उपलब्धिपछि अब दादुरा–रुबेलालगायत खोपबाट बचाउन सकिने रोग नियन्त्रणमा केन्द्रित हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा ‘खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ र खोपले जीवन रक्षा गर्छ’ भन्ने सन्देशलाई समुदायसम्म प्रभावकारी रूपमा पुर्याउन सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको थियो।
चालु आर्थिक वर्षको तथ्यांकअनुसार प्रदेशमा कुनै पनि खोप नपाएका (शून्य मात्रा) २ सय ७९ जना बालबालिका तथा खोप सुरु गरे पनि सबै मात्रा पूरा नगरेका ५ हजारभन्दा बढी बालबालिका रहेका छन्। उनीहरूलाई लक्षित गर्दै नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै तहको समन्वय आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन्।







