उर्लाबारी । डेङ्गु रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै उर्लाबारी नगरपालिकाले सञ्चालन गरेको ‘खोजौँ र नष्ट गरौँ’ अभियानअन्तर्गत वडा नं. ४ मा डेङ्गी सार्ने लामखुट्टेका लार्भा खोजी तथा नष्ट गर्ने कार्यक्रम थालिएको छ।
उर्लाबारी नगरपालिकाले असार १५ गते सबै वडामा एकैसाथ सञ्चालन गरेको अभियानमा वडा नं. ४ का अध्यक्ष कल्याणकुमार राई, वडा सदस्यहरू कृष्णमाया कडरिया, अमृता नेपाली, शेखरनाथ दाहाल, सुरेन्द्र न्यौपाने, वडा कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
अभियानका क्रममा घर–घर तथा सार्वजनिक स्थानमा रहेका पुराना टायर, गमला, फूलदानी, पानी जम्ने भाँडा, ड्रम तथा अन्य सम्भावित स्थानमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिएको थियो। साथै स्थानीयवासीलाई आफ्नो घर तथा वरपर पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने र डेङ्गुबाट बच्ने उपायबारे सचेतना प्रदान गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्ष कल्याणकुमार राईले डेङ्गीबाट हुन सक्ने स्वास्थ्य जोखिमबारे जानकारी दिँदै लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु नै डेङ्गी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् । उनले प्रत्येक नागरिकलाई आफ्नै घर र टोलबाट अभियान सुरु गर्न आग्रह गर्दै सबैको सहभागिताले मात्रै डेङ्गी नियन्त्रण सम्भव हुने धारणा व्यक्त गरेका छन् ।
उर्लाबारी नगरपालिकाले “सचेत बनौँ, सावधानी अपनाऔँ, डेङ्गीबाट आफू पनि बचौँ, परिवार र समाजलाई पनि बचाऔँ” भन्ने नारासहित असार १५ गते सबै वडामा अभियान सञ्चालन गरेको हो। नगरपालिकाले “स्वच्छ उर्लाबारी, स्वस्थ उर्लाबारी हाम्रो प्रतिबद्धता” भन्ने सन्देशसहित डेङ्गी नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ।

-राष्ट्रिय समाचारपत्रको सहयोगमा

तपाईको प्रतिक्रिया