पोखरा / गण्डकी प्रदेशमा एचआईभी संक्रमितको संख्या ३ हजार नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म प्रदेशमा एचआईभी संक्रमितको संख्या ३ हजार १ सय ७१ पुगेको जानकारी सोमबार पोखरामा आयोजित एचआईभी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा दिइएको छ।

प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकीका अनुसार संक्रमितमध्ये १ हजार ६ सय १९ पुरुष, १ हजार ५ सय ४१ महिला तथा ११ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति रहेका छन्।

प्रदेशभर देखिएका संक्रमितमध्ये आधाभन्दा बढी कास्की जिल्लाका छन्। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकीका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यौलाका अनुसार कास्कीमा मात्रै १ हजार ६ सय २९ जना एचआईभी संक्रमित रहेका छन्।

कास्कीपछि स्याङ्जामा ३ सय ४४, तनहुँमा २ सय ६०, गोरखामा २ सय ४०, बागलुङमा २ सय १८, पूर्वी नवलपुरमा १ सय ६२, लमजुङमा १ सय ३९, म्याग्दीमा ९५ तथा पर्वतमा ८४ जना संक्रमित रहेका छन्।

गण्डकी प्रदेशमा १५ वर्षमुनिका संक्रमितको संख्या ५६ रहेको जनाइएको छ। तीमध्ये ३० जना बालक र २६ जना बालिका रहेका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डाक्टर राजेन्द्र ढकालका अनुसार परीक्षणका लागि आउनेमध्ये धेरैजसो व्यक्ति अन्यत्र प्रारम्भिक परीक्षण गराइसकेपछि पुष्टि गर्न आउने भएकाले यहाँको परीक्षणमा संक्रमित पुष्टि हुने दर अत्यन्त उच्च देखिएको छ।

उनले भने, ‘धेरैजसो व्यक्ति अन्यत्र जाँच गराएर पुष्टि गर्न मात्रै हाम्रोमा आउनुहुन्छ। त्यसैले परीक्षण गरिएकामध्ये संक्रमित पुष्टि हुने संख्या झण्डै शतप्रतिशतजस्तै देखिएको हो।’

संक्रमितको संख्या बढे पनि संक्रमण दर भने घट्दो क्रममा रहेको बस्यौलाले बताए। उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति, लागुऔषध दुव्र्यसन, असुरक्षित यौन सम्पर्क तथा जथाभावी सिरिञ्ज प्रयोग संक्रमणका प्रमुख कारण हुन्।

कास्कीमा संक्रमितको संख्या बढी देखिनुको कारण प्रदेश राजधानीका रूपमा अन्य जिल्लाबाट परीक्षणका लागि आउने व्यक्तिको संख्या, ठूलो जनघनत्व तथा सहरीकरणको प्रभाव रहेको उनले स्पष्ट पारे।

एएचएफ नेपालका कन्ट्री म्यानेजर दिव्यराज जोशीले संक्रमण न्यूनीकरणका लागि संस्था नियमित रूपमा सचेतना तथा उपचार सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको बताए।

उनले भने, ‘हामी निरन्तर काम गरिरहेका छौं, त्यसको सकारात्मक परिणाम पनि देखिँदै गएको छ।’ उनका अनुसार एआरटी औषधि सेवनमा समेत एएचएफले सहयोग गर्दै आएको छ।

एएचएफ पोखराकी कार्यक्रम संयोजक गंगा ढकालले संक्रमितको सुरक्षा, सचेतना र उपचार पहुँच विस्तारका लागि प्रयास भइरहे पनि सामाजिक लाञ्छना र विभेदका कारण धेरै व्यक्ति अझै खुलेर आउन नसकेको बताइन्।

कार्यक्रममा सहभागीहरूले नेपाल सरकारले सन् २०३० सम्म एचआईभी संक्रमण अन्त्य गर्ने लक्ष्यअनुसार अघि सारेको ९५–९५–९५ रणनीति, उपचार सेवाको पहुँच विस्तार, संक्रमितको गोपनीयता संरक्षण तथा लाञ्छना र विभेद न्यूनीकरणमा थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया