सोलुखुम्बु, असार ७ — १२औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा सोलुखुम्बुको सल्लेरीस्थित जन जागृति माध्यमिक विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा कक्षा १२ की निशा बस्नेत प्रथम, कक्षा १२ की पूजा मगर द्वितीय, कक्षा १० की लामुक्मा राई तृतीय तथा कक्षा १० की तारा पराजुली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो भने सान्त्वना स्थान प्राप्त विद्यार्थीलाई मेडलसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
“विश्व सद्भाव र मानसिक स्वास्थ्यका लागि योग” तथा “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगिता कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सोलुखुम्बुले आयोजना गरेको थियो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा योगको महत्व, नियमित योग अभ्यासबाट प्राप्त हुने शारीरिक तथा मानसिक स्वास्थ्य लाभ तथा स्वस्थ जीवनशैली निर्माणमा यसको भूमिकाबारे सचेतना अभिवृद्धि गर्नु रहेको केन्द्रले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले योगको आवश्यकता, स्वास्थ्य लाभ तथा आधुनिक जीवनशैलीमा यसको महत्वबारे तार्किक र प्रभावशाली धारणा प्रस्तुत गरेका थिए। विद्यालय परिसरमा सभ्य र भव्य रूपमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा योगप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरेको आयोजकको विश्वास छ।







