विराटनगर/ चारदिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार बेइजिङमा भएको भेटवार्तामा सीमादेखि कनेक्टिभिटीसम्मका कुरा भएका छन् ।
मन्त्री खनालले समकक्षीसँगको भेटमा ‘एक चीन सिद्धान्त’प्रति सरकारको प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपाली भू–भाग चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने प्रतिबद्धता दोहोर्याएका छन् ।
जवाफमा वाङ यीले नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्याएका छन् । वाङ यीले सुशासन र आर्थिक विकासका क्षेत्रहरूमा नेपाल सरकारको प्राथमिकताअनुसार चीन सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
परराष्ट्रमन्त्री खनालले नवप्रवर्तनलाई आत्मसाथ गर्दै आफ्ना मूल सिद्धान्तहरूलाई कायम राख्ने चिनियाँ दार्शनिक अवधारणासँग नेपालको पनि चाहना मिल्ने बताएका थिए ।
छलफलमा दुवैपक्षबीच पारस्परिक सम्मान कायम राख्ने, एकअर्काका प्राथमिकताहरू र संवेदनशीलताहरूप्रति संवेदनशील रहने प्रतिबद्धता पनि दोहोर्याइएको छ ।
त्यसैगरी, उनीहरूबीच दुई देशबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेसनमा सहयोगमा जोड दिने विषयमा छलफल भएको छ ।
साथै, पर्यटन, रासायनिक मल, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण र नागरिकस्तरका सम्बन्धका क्षेत्रमा सहकार्य गर्ने सहमति जनाएका छन् ।
समकक्षीको भेटमा दुवैपक्षहरूले विगतमा भएका सहमति कार्यान्वयनमा प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।







