हुम्ला – कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन राउटे संरक्षण नीति स्वीकृत गरेको जनाएको छ । लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति–२०८३ स्वीकृत गरेसँगै आगामी आर्थिक वर्षबाट उक्त नीतिअनुरूप कार्ययोजना कार्यान्वयन हुने बताइएको छ ।

कर्णाली प्रदेश सरकारले सोही नीतिअनुसार नै आगामी आवका योजना तथा कार्यक्रममा समेटेर कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । राउटेमाथि बाह्य समुदायबाट असुरक्षा बढ्दै गएपछि उनीहरूको कला संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति निर्माण गरिएको होे । पछिल्लो समय राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेपका उनीहरू असुरक्षित बन्दै गएका छन् ।

समुदाय नै असुरक्षित बन्न थालेपछि उनीहरूका लागि प्रदेश सरकारले एकीकृत नीति बनाएर संरक्षण गर्न लागिएको जनाएको छ । परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसात् गर्दै राउटेसम्बन्धी नीति तयार गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले बनाएको नीतिमा घुम्ती तथा खेलका माध्यमबाट शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्ने, भाषालाई लिपिबद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने तथा नागरिकता उपलब्ध गराउनेलगायतका विषय समेटिएका छन् । राउटेको संरक्षणका एकीकृत नीति निर्माण गरेर कार्यान्वयन गर्न लागिएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । नागरिकताबिना पनि सरकारबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका राउटेलाई अब नागरिकता वितरण गर्ने नीति छ ।

राउटे समुदायले खाम्ची भाषा बोल्छन् । नीतिमा यो समुदायको भाषालाई लिपिबद्ध गर्ने उल्लेख छ । राउटे समुदायको जातीय र मौलिकता संरक्षण गर्न संरक्षित पार्क स्थापना गर्ने र यसले पर्यटन प्रवर्धनसँगै उक्त समुदायबारे चासो राख्नेका लागि अध्ययन स्थल बन्ने अपेक्षा लिइएको छ ।

यसैगरी कर्णाली प्रदेश सरकारले लोपोन्मुख फिरन्ते जातिका रूपमा रहेको राउटे समुदायको संरक्षण गर्न राउटे कोरिडोरको अवधारणा पनि अघि सारेको छ । चालु आव २०८२/८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबास स्थलको नक्साङ्कनका आधारमा कोरिडोरको अवधारणा अघि सारिएको हो ।

राउटेको संरक्षण, संवर्धन र प्रवर्धन गर्न चालु आवमा राउटे कोरिडोर स्थापना गर्न लागिएको हो । राउटे बसाइँ सर्ने क्षेत्र समेटेर बनाइने कोरिडोर अवधारणामा राउटे समन्वय समितिको निर्णयका आधारमा प्रोफाइल प्रकाशन गर्ने, विकास साझेदारको समन्वयमा पोषणयुक्त खाद्यसामग्री प्रदान गर्ने, राउटेका लागि प्रादेशिक तथा अन्य सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने जस्ता काम नीति तथा कार्यक्रममा समेटिएको छ।

तपाईको प्रतिक्रिया