काठमाडौं : नेपाल नेत्र ज्योति संघको ३०औँ केन्द्रीय साधारणसभामा विराटनगर आँखा अस्पतालका अस्पताल प्रबन्धक कुमार पृथु सम्मानित भएका छन्। नेत्र स्वास्थ्य सेवाको विकास, संस्थागत सुदृढीकरण र सेवा विस्तारमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै संघले उनलाई विशेष सम्मान प्रदान गरेको हो।
संघका अनुसार पृथुले विगत १५ वर्षदेखि विराटनगर आँखा अस्पतालको व्यवस्थापन तथा प्रशासनिक नेतृत्व सम्हाल्दै अस्पताललाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। उनको नेतृत्वमा अस्पतालले सेवा गुणस्तर अभिवृद्धि, अत्याधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन तथा सामुदायिक नेत्र स्वास्थ्य कार्यक्रम विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
सोही अवसरमा विराटनगर आँखा अस्पताललाई पनि देशकै अग्रणी आँखा अस्पतालका रूपमा स्थापित हुन सफल भएको भन्दै विशेष सम्मान प्रदान गरिएको थियो। अस्पतालले गुणस्तरीय उपचार सेवा, आधुनिक प्रविधिको उपयोग, दक्ष जनशक्ति विकास तथा प्रभावकारी सामुदायिक आँखा स्वास्थ्य कार्यक्रममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाउन सफल भएको संघले जनाएको छ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै अस्पताल प्रबन्धक पृथुले प्राप्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण अस्पताल परिवारको सामूहिक मेहनत, समर्पण र सेवाभावको सम्मान भएको बताए।
उनले यस सम्मानले आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र पहुँचयुक्त नेत्र सेवा प्रदान गर्न थप प्रेरणा मिलेको उल्लेख गरे। विराटनगर आँखा अस्पतालले नेपालसँगै भारत, बंगलादेश र भुटानका लाखौँ सेवाग्राहीलाई गुणस्तरीय नेत्र सेवा प्रदान गर्दै आएको छ। उपचार सेवाका अतिरिक्त अनुसन्धान, स्वास्थ्यकर्मी उत्पादन तथा सामुदायिक स्वास्थ्य सेवामा समेत अस्पतालले उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। काठमाडौंमा सम्पन्न साधारणसभाको अध्यक्षता प्रा. डा. चेत्तराज पन्तले गरेका थिए भने प्रमुख अतिथि प्रा. डा. रामप्रसाद पोखरेल रहेका थिए। कार्यक्रममा श्यामकुमार पोखरेल, भरत चन्द, कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार तथा प्रा. डा. डीएन साहलगायतको उपस्थिति रहेको थियो।







