पथरी, १४ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–२ र ३ अन्तर्गत सालबारी क्षेत्रमा जोगीको भेष धारण गरी सर्वसाधारणलाई ठगी गर्ने प्रयास गरेको आरोपमा तीन जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उर्लाबारी–३ का वडा अध्यक्ष भीष्म बुढाथोकीको सक्रियतामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा लिइएकाहरू भारतको बिहार राज्यस्थित समस्तीपुर जिल्लाका रहेको बताइएको छ। प्रहरीले भने उनीहरूको नाम सार्वजनिक गरेको छैन।

वडा अध्यक्ष बुढाथोकीका अनुसार उनीहरूले हात हेरिदिने, चामल तथा तेल माग्ने बहानामा घरघरमा पुगेर सर्वसाधारणलाई झुक्याउने र बेहोस बनाई लुटपाट गर्ने शैली अपनाएको सूचना प्राप्त भएको थियो।

बुढाथोकीका अनुसार आजै सालबारी क्षेत्रका दुईवटा घरमा समेत मानिसलाई बेहोस बनाएर ठगी गर्ने प्रयास भएको थियो। तर, ती घरका व्यक्तिहरूको सम्पत्ति भने लुट्न नपाएको बताइएको छ।

स्थानीयबाट प्राप्त सूचनाका आधारमा वडा अध्यक्ष बुढाथोकीले प्रहरीलाई खबर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको जनाइएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूको संलग्नता, ठगीको शैली तथा अन्य सम्भावित घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया