काठमाण्डौं / देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा चरम लापर्बाही र अखाद्य वस्तु प्रयोग भइरहेको पाइएकाे छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’मा गम्भीर कैफियत फेला पारेको हो ।
अनुगमनका क्रममा क्यान्टिनमा खाद्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको, सरसफाइमा लापर्बाही गरिएको तथा उपभोगका लागि अनुपयुक्त वस्तु प्रयोग भएको पाइएको विभागले जनाएको छ ।
टोलीले खाद्य सामग्रीको भण्डारण, तयारी तथा वितरण प्रक्रियामा समेत विभिन्न कमजोरी भेटिएको जनाएको छ । टोलीले क्यान्टिनको स्टोरबाट १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम र प्रयोग गर्न अयोग्य अवस्थाका १४ वटा फुटेका अन्डा फेला पारेको थियो ।
अनुगमन क्रममा उक्त क्याफेले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी गुणस्तरहीन कच्चापदार्थ प्रयोग र भण्डारण गरेको पाइएको छ ।
अखाद्य र म्याद नाघेका वस्तु प्रयोग मार्फत उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) विपरीत कार्य गरेको ठहर गर्दै विभागले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ ।







