काठमाण्डौं । न्याय माग्दै एक महिनादेखि काठमाडाैंकाे माइतीघर मण्डलामा धर्नामा बसेका सुजन विकले विराेधका कार्यक्रम स्थगित गरेका छन् । चितवनकाे रत्ननगरस्थित बकुलर अस्पतालमा चिकित्सकीय लापर्वाहीका कारण श्रीमतीको मृत्यु भएको भन्दै एक महिनादेखि माइतीघर मण्डलामा धर्नामा बसेका विकले आज धर्ना स्थगित गरेका हुन् ।
विकले श्रीमती अस्मिता तामाङ विकको १० वैशाख २०८३ मा प्रसूति गराउने क्रममा अस्पतालमा चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएको आरोप लगाउँदै धर्नामा बसेका थिए ।
हालसम्म पनि मृत्यु हुनुकाे कारणबारे अस्पतालले पोस्टमार्टम रिपोर्ट नदिएकाे भन्दै उनले विराेध सुरु गरेका थिए ।
उनले एक महिनासम्म नवजात शिशुसहित माइतीघरमा धर्ना बसेका थिए । तर, बिहीबार गृहमन्त्री सुधन गुरुङले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिएपछि आज उनले धर्ना स्थगित गरेका हुन् ।
मन्त्रालयले घटनाको यथार्थ छानबिनका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि पीडित पक्ष तत्कालका लागि आन्दोलनबाट पछि हटेको बताइएको छ । सुजन विकले न्याय सुनिश्चित नभएसम्म कानुनी र प्रशासनिक प्रक्रियामा निगरानी जारी रहने बताएका छन् ।







