काठमाडौं। मकवानपुरको हेटौँडामा दाना उद्योग सञ्चालन गरिरहेको ओम एग्रो प्राइभेटले १० महिनामै अर्ब बढीको व्यापार गरेको छ। कम्पनीले २०८२/८३ को पहिलो १० महिनामा उद्योगले १ अर्ब २ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।

सन् २०२५ को मे महिना (जेठ २०८१) देखि मात्र आंशिक रूपमा सञ्चालनमा आएको यो उद्योगले सुरुवाती दुई महिनामा १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो। नयाँ उद्योग भएकाले सुरुवाती वर्षमा नगद नोक्सानी बेहोरे पनि पछिल्लो १० महिनाको व्यापारिक ग्राफले उद्योग उत्साहजनक दिशामा अघि बढेको संकेत गर्दछ।

उद्योगले आफ्नो व्यावसायिक सञ्चालन र पुँजीगत खर्च व्यवस्थापनका लागि बैंकहरूबाट उपयोग गर्ने कुल १ अर्ब ५५ करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि साख (रेटिङ) पुनः पुष्टि भएको छ।

केयर रेटिङ नेपालले कम्पनीको १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक कर्जाका लागि ‘सिंगल बी प्लस’ र १० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ प्रदान गरेको छ। त्यस्तै, ४० करोड ४८ लाखको मिश्रित कर्जा सीमालाई पनि सोही अनुसारको रेटिङ दिइएको छ।

यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको र सुरक्षाको आधार न्यून रहेको बुझाउँछ। नयाँ उद्योग भएकाले सञ्चालन स्थिरताको जोखिमका कारण यो स्तरको रेटिङ दिइएको रिपोर्टमा उल्लेख छ।

यो उद्योगको नेतृत्व अध्यक्ष खुम प्रसाद अर्यालले गरिरहेका छन्, जो गण्डकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज जस्ता प्रतिष्ठित संस्थाका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्। अर्यालले नेपालगन्ज मेडिकल कलेज र खिलुङ कालिका एग्रो फार्म जस्ता सफल संस्थाहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्।

सञ्चालक समितिमा अर्का अनुभवी सदस्य भेषराज अर्याल रहेका छन्। जोसँग अस्ट्रेलियाको कर्पोरेट क्षेत्र र नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा १५ वर्षभन्दा लामो व्यवस्थापकीय अनुभव छ। अनुभवी नेतृत्व र संस्थागत सहयोग नै उद्योगको मुख्य सकारात्मक पक्ष रहेको रिपोर्टमा उल्लेख छ।

हेटौँडामा रहेको यो उद्योगको उत्पादन क्षमता प्रतिघण्टा २० मेट्रिक टन रहेको छ। कम्पनीले मुख्यतया कुखुराको दाना उत्पादन गर्दछ। नेपालमा परम्परागत आहारको सट्टा सन्तुलित दानाको प्रयोग बढ्दै गएकाले र मासु तथा अण्डाको माग सधैँ स्थिर रहने भएकाले यस उद्योगको बजार सम्भावना बलियो देखिएको छ।

तपाईको प्रतिक्रिया