सञ्जय मिश्रा

रौतहट, २९ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा ट्राफिक प्रहरीका लागि निर्माण गरिएको नयाँ भवनको उद्घाटन गरिएको छ।

 

इलाका प्रहरी कार्यालय विजयपुरको परिसरमा निर्माण भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट भवनको बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी  सिताराम रिजाल तथा प्रदेश ट्राफिक प्रहरी कार्यालय, राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एसपी ज्ञानेन्द्रबहादुर बस्नेतले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

 

स्थानीयवासीको सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको भूमिकाको चर्चा गरेका थिए। उनीहरूले भवन निर्माणमा सहयोग पुर्‍याउने दाताहरू तथा स्थानीय समुदायप्रति धन्यवादसमेत व्यक्त गरेका थिए।

 

नवनिर्मित भवनमा कार्यालय सञ्चालनका लागि आवश्यक कक्ष, प्रहरी बसोबासका लागि ब्यारेक तथा भान्साको व्यवस्था गरिएको छ। भवन निर्माणपछि ट्राफिक प्रहरीको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार यसअघि विजयपुरमा कार्यरत तीन जना ट्राफिक प्रहरी भाडाको कोठामा बस्दै आएका थिए। आफ्नै भवन निर्माण भएपछि उनीहरूको बसोबास तथा कार्यालय सञ्चालन दुवैमा सहजता आएको छ।

 

ट्राफिक प्रहरी सहायक हवल्दारको नेतृत्वमा सञ्चालन हुँदै आएको उक्त ट्राफिक पोष्टका लागि भवन निर्माण हुनु स्थानीय स्तरमा ट्राफिक व्यवस्थापन सुदृढीकरणतर्फ महत्वपूर्ण उपलब्धि मानिएको छ।

 

हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाहेक गौर, गरुडा, बमनहर, शिवनगर र बागमतीलगायत स्थानमा रहेका अधिकांश ट्राफिक कार्यालय तथा अस्थायी पोष्टहरू भने अझै सरकारी कार्यालयको भवन वा भाडाका संरचनाबाट सञ्चालन हुँदै आएका छन्। आफ्नै भवन निर्माणको पहल विस्तार हुँदै गए ट्राफिक प्रहरीको कार्यक्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया