मोरङ । सशस्त्र प्रहरी बल नेपालले मोरङको जहदा गाउँपालिकाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले वानटन पिकअप गाडी र मोटरसाइकलसहित ९२२.२ किलोग्राम गाँजा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय सोराभाग, बोर्डर आउट पोस्ट (बिओपी) नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति करिब १२ः१५ बजे जहदा गाउँपालिका–७ स्थित महादेवकोल क्षेत्रमा निगरानी गरेको थियो।
टोलीले लक्ष्मनियाबाट तारेगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई भारतीय नम्बर प्लेटको BR 38 Z 7452 नम्बरको मोटरसाइकलले स्कर्टिङ गरिरहेको अवस्थामा पछ्याएको थियो। प्रहरी टोलीलाई देखेपछि पिकअप र मोटरसाइकल चालक दुवैले सवारी साधन त्यागेर फरार भएका थिए।
त्यसपछि नियन्त्रणमा लिइएको पिकअप गाडीको जाँच गर्दा धानको भुसले छोपेर राखिएको अवस्थामा २९ वटा पोकामा लुकाइएको प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल ९२२.२ किलोग्राम रहेको छ।
बरामद गाँजा, पिकअप गाडी तथा मोटरसाइकल आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ।







